राक्सिराङ–चैत १४ गते । राक्सिराङ गाउँपालिका वडा नं ८ माइसिराङस्थित भामडोरी चेपाङ झरनाको खोँचमा फसेका ब्यक्तिलाई उद्धार गरिएको छ ।
राक्सिराङ गाउँपालिकाको नगर प्रहरीको अगुवाईमा जनपद प्रहरी र स्थानीयबासिन्दाको समेत सहयोगमा खोँचमा फसेका ब्यक्तिको उद्धार भएको हो । नगर प्रहरीसँगै चैनपुर प्रहरी चौकी र गिंगु प्रहरी चौकीका प्रहरी पनि उद्धार कार्यमा सहभागी भएका थिए ।
झण्डै ५ फिट तल खोँचमा पुगेर नगर प्रहरीका प्रमुख राजकुमार चेपाङ (प्रजा) ले खोँचमा फसेका अपरिचित ब्यक्तिको उद्धार गर्नु भएको हो ।
‘नगर प्रहरी, नेपाल प्रहरी र स्थानीयबासिन्दाको समेत सहयोगमा हामीले खोँचमा फसेका ब्यक्तिको उद्धार गरी नेपाल प्रहरीलाई बुझाएका छौं’, प्रहरी प्रमुख राजकुमारले भन्नुभयो ।
उहाँका अनुसार नाम वतन नखुलेका ती ब्यक्ति के कसरी खोँचमा पुगे भन्ने यकीन भइसकेको छैन । बेहोसजस्तै अबस्थामा डोरीले बाँधेर उद्धार गरिसकेपछि केही पेयपदार्थ र बिस्कुट खुवाएपछि बोली फुटे पनि उनले आफ्नो नाम, वतन बताउन सकेका छैनन् ।
भीरको मुनि गहिरो खोँच रहेको र मानिसहरु जान नसक्ने अबस्थामा ती ब्यक्ति कसरी त्यहाँ पुगे भन्ने कुरा शंकास्पद रहेको नगर प्रहरी प्रमुख राजकुमारले बताउनुभयो । नगर प्रहरीका प्रमुख राजकुमार नेपाली सेनाबाट अवकाश प्राप्त ब्यक्ति हुन् ।
उहाँले नेपाली सेनामा हुँदा विपद व्यवस्थापनको क्षेत्रमा काम गरेको र विभिन्न तालिम लिएको अनुभवको आधारमा
राक्सिराङ प्रहरी चौकी, गिङ्गु प्रहरी चौकीबाट समेत जनपद प्रहरी र स्थानीय बासिन्दाको बाक्लो सहभागितामा उनलाई उद्धार गरी इलाका प्रहरी कार्यालय मनहरीमा बुझाइएको छ ।
उद्धार गरिएका ब्यक्तिको स्वास्थ्य सामान्य रहेको र उनको नाम वतन पत्ता लगाउन आवश्यक पहल भइरहेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक दीपक थापाले बताउनुभयो ।







