Wednesday, May 13, 2026

राष्ट्रिय रोटरी मावि हाँक्न चुनिए चार महिला

ताजा / भरखरै प्राप्त

मनहरी–बैशाख २३ गते । मनहरी गाउँपालिका वडा नं ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालय हाँक्नका लागि चारजना महिला चुनिनु भएको छ ।

विद्यालय व्यवस्थापनका लागि चाहिने २ जना महिलाकोटासहित अन्य २ जना सदस्य पनि महिला नै चुनिनु भएको हो । मंगलबार दिउँसो २९ औँ अभिभावक भेलामा ठूला रस्साकस्सीबीच ४ जना सदस्यलाई निर्विरोध बनाइएको हो । निर्विरोध हुनु भएकामा सीता ब्लोन, माया विश्वकर्मा, रन्जु परियार, र सावित्री मुक्तान रहनु भएको छ ।

अब वडाको प्रतिनिधि, शिक्षक प्रतिनिधि सदस्य रहने प्रावधान छ भने प्रधानाध्यापक समितिको सदस्य सचिव हुने प्रावधान रहेको छ । अब समितिमा रहने सदस्य सचिव र प्रधानाध्यापक बाहेक जोकोही अध्यक्षमा चुनिनु हुनेछ ।

पुरुष जुधे, महिला अघि सरे
राष्ट्रिय रोटरी माध्यमिक विद्यालयको अध्यक्ष बन्ने उद्देश्यसहित केही दिनयता विभिन्न शक्ति केन्द्रहरुको चलखेल जारी नै थियो ।

पुराना राजनीतिक दलसम्बद्ध अभिभावकहरु र नयाँ पुस्ताका (जेन्सी) समूह पनि उत्तिकै सक्रिय थियो । तर, एकाएक अध्यादेशले मनोनीतको संख्या कटौति गरेपछि पूरै योजना फेल खाएको बताइन्छ । शिक्षासेवी वा चन्दादाताबाट यसअघि झै केही गैरअभिभावकहरु विद्यालयमा प्रवेश गर्ने समिति बनाइने चर्चा थियो । एकाएक अध्यादेशले मनोनीत संख्या कटौति गरेपछि अभिभावकबाट मात्रै समिति गठन हुन पुग्यो ।

कूल १५ जनाले सदस्य हुनका लागि नाम टिपाएर छलफल गराएकामा दुईजना महिला निर्विरोध बनाइएको थियो । त्यसपछि बाँकी रहेका पुरुषबीच निकै हानाथाप भएपछि अन्त्यमा खुला कोटामा पनि २ जना महिलालाई नै अघि सारेर ४ जनाको कोटा फुलफिल गरिएको थियो ।

निवर्तमान अध्यक्ष शालिकराम बानियाँको अध्यक्षता तथा सांसद प्रशान्त उप्रेतीको प्रमुख आतिथ्यतामा भेला भएको हो । भेलामा गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगर, ७ नं वडाध्यक्ष ठाकुरराम तितुङ, शिक्षा शाखा प्रमुख प्रदीप पराजुली, अभिभावक सुनिल मोक्तान, शिक्षक सुधा ढकाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

लोकप्रिय

Related Articles