मनहरी–बैशाख १९ गते । अब्यवस्थित बसोबासी, सुकुम्बासी र दलित सुकुम्बासीलाई लालपुर्जा दिने गरी अघिल्ला सरकारले सुरु गरेको काम कारबाही स्थगन गरेर बस्ती खाली गर्ने चेष्टा गरे जनप्रतिनिधिहरु नै सडकमा आएर आन्दोलित हुने मनहरी गाउँपालिका ७ नं वडाध्यक्ष ठाकुरराम तितुङले घोषणा गर्नु भएको छ ।
काठमाडौँका सुकुम्बासी बस्तीहरु हटाएको सन्दर्भलाई जोडेर मनहरी गाउँपालिकामा पनि त्यस्तै व्यवहार सरकारले गरेमा आफूहरु राजीनामा दिएर सडकमा उत्रने उहाँको दाबी थियो ।
‘हामीले २०७७ साल चैत २८ गतेदेखि मनहरी गाउँपालिकामा अब्यवस्थित बसोबासी, सुकुम्बासी र दलित सुकुम्बासीहरुको अभिलेखीकरण गरी लालपुर्जा प्राप्तिका लागि प्रक्रिया अघि बढाएका हौं’, वडाध्यक्ष तितुङको भनाई थियो–‘संघीय सरकारकै निर्देशनमा भूमि समस्या हल गर्नका लागि ८० प्रतिशतभन्दा बढी काम भइसकेको छ ।’
अघिल्लो स्थानीय सरकारको पालमा सुरु भएको भूमि समस्या सम्बन्धी अभिलेखीकरण, डिजिटाइजेसन र दाबी बिरोध लगायत कामहरु अहिलेको स्थानीय सरकारले पनि निरन्तरता दिएको र अब जग्गा नापी गर्ने प्रक्रिया मात्रै बाँकी रहँदा संघीय सरकारले डोजर लगाएर बस्ती खाली गर्ने होहल्ला गरेर जनतालाई त्रासदीमा धकेल्न नहुने उहाँले बताउनुभयो ।
‘काठमाडौँको घटनाले मनहरीमा पनि असर परेको छ’, वडाध्यक्ष तितुङको भनाई थियो–‘सरकारको काम सन्त्रास फैल्याउने होइन, जनतालाई सुविधा दिने हो, व्यवस्थापन गर्ने हो ।’
नपुगेका प्रक्रियाहरु पूरा गरेर तत्कालै अब्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी र दलित सुकुम्बासीलाई लालपुर्जा दिने गरी संघीय सरकारले काम गर्नुपर्ने भन्दै वडाध्यक्ष तितुङले यदि जनताको भावना बिपरित गएर सरकारले बस्तीमा त्रासदी उत्पन्न गर्न खोजे पदबाट राजीनामा दिएर जनताको पक्षमा सडकमा आउने बताउनुभयो ।
‘हामी भूँइतहमा काम गरेका जनप्रतिनिधिहरुले यो कुरालाई गम्भीरताका साथ बुझेर संघीय र प्रदेश सरकारलाई सल्लाह दिनुपर्छ’, वडाध्यक्ष तितुङको भनाई थियो–‘मनहरीका ८ हजार बढी घरपरिवारको लालपुर्जा पाउने अधिकारमाथि कसैले धावा बोल्छ भने कडा आन्दोलनको जरुरी हुनेछ ।

