मनहरी–फागुन ८ गते । मकवानपुरका दार्शनिक नेता रुपचन्द्र बिष्ट (रुदाने) कै झल्को आउने गरी मकवानपुर क्षेत्र नं २ का एमाले उम्मेदवार महेश बर्ताैलालाई थाहानगरबासीले सम्झेका छन् ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका क्रममा घरदैलो गर्दै थाहा नगरपालिकाका गाउँटोलहरुमा पुगिरहेका बर्ताैलाको कार्यशैलीमा जनमुखी नेता रुपचन्द्र बिष्ट ‘रुदाने’को झल्को पाएको उनीहरुले बताएका छन् ।
मतदातासँगको संवादमा बर्तौलाले आफूले अघिल्लो निर्वाचनमा गरेका प्रतिबद्धताहरू पूरा गरेको दाबी गर्नुभयो । ‘मैले चुनावका बेला संसदमा निदाएर बस्दिनँ, रेडियो र टेलिभिजन खोल्दा आफ्नो क्षेत्रको मुद्दा उठाएको सुन्न र देख्न पाउने गरी काम गर्छु भनेको थिएँ,” बर्तौलाले भने, “त्यो वाचा मैले संसदमा देखाएको सक्रियतामार्फत पूरा गरेको छु ।’
उहाँले आफ्नो कार्यकालको महत्त्वपूर्ण उपलब्धिका रूपमा चित्लाङ–चन्द्रागिरी–थानकोट सडकलाई प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो–‘मैले यो सडकको स्तरोन्नतिका लागि स्रोतको अभाव हुन दिन्न भनेको थिएँ ।
३२ महिनाकै कार्यकालमा सरकारबाट झण्डै ६२ करोड बजेट सुनिश्चित गराउन सफल भएको छु । अहिले सडकको काम तीव्रताका साथ भइरहेको छ ।’
विगतमा चुनाव जितेपछि नेताहरू गाउँ नफर्कने आम गुनासोलाई बर्तौलाले तोडिदिएको स्थानीयले बताएका छन् । २०७९ को निर्वाचनपछि उहाँ संसद चलेको समयबाहेक अधिकांश समय गाउँकै घरदैलो र जनताका समस्या समाधानमा केन्द्रित हुने गर्नु भएको थियो । एमालेका निर्वाचन फोकल पर्सन आशिष अस्लामीका अनुसार, मतदाताहरूले बर्तौलाको सक्रियतालाई रुदानेको जनमुखी शैलीसँग तुलना गरेका छन् । बुधबार थाहाका मतदाताहरूसँग भेटघाट गर्दै बर्तौलाले स्थानीयका गुनासो सुन्ने, सुझाव लिने र अग्रजहरूबाट आशीर्वाद ग्रहण लिनु भएको थियो ।
थाहा नगरको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा एमालेका स्थानीय तथा केन्द्रीय नेताहरूको उल्लेख्य सहभागिता थियो ।
कार्यक्रममा बुद्धरत्न मानन्धर, हरी गोपाली, कल्पना बलामी, अच्युतम ढकाल, बिमल कुमार ढकाल, तुलसा बिष्ट, सुरेन्द्रमान प्रधान, हेम थिङ, सुजन रायमाझी, सुजन खत्री, शशिधर सुवेदी लगायतको एमाले नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
जनताको घरदैलोमा पुग्दा बर्तौलालाई स्थानीयले फूलमाला र खादाले स्वागत गर्दै विकासका बाँकी कामलाई पूर्णता दिन सुझाव समेत दिएका छन् ।

