मनहरी–फागुन ८ गते । आसन्न प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारले अगुवाइ गर्ने दाबी पार्टीका नेता बीरबहादुर घलान (ज्वाला) ले गर्नु भएको छ ।
मनहरीलाइभ डटकमलाई प्रतिक्रिया दिँदै उहाँले भन्नु भयो–‘म उम्मेदवारसँगै गाउँघर र बस्तीहरु घुमिरहेको छु, निकै राम्रो समर्थन र सद्भाव प्राप्त भएको छ । हामीले जित्ने आधार नै जनताको माया हो ।’
उहाँका अनुसार तत्कालीन थाहा नगरपालिकामा मेयर हुँदा देशमै उत्कृष्ट कार्य सम्पादन गरेको अनुभवी नेता लबशेर बिष्टप्रति सबैका सद्भाव छ । जुन गाउँमा पुगेपनि बिष्टप्रतिको मतदाताको प्रेम र सद्भावले नै निर्वाचनमा बिजयका संकेत गरिसकेको टिप्पणी ज्वालाको छ ।
‘यसअघिका मत, स्थानीय तहमा प्राप्त भएको मत र यस क्षेत्रमा पार्टीको सांगठनिक चलायमानको अबस्थालाई मध्यनजर गर्दा हामी अग्रभागमै छौं, अरु अरु पछि पछि हुनुहुन्छ’, ज्वालाले भन्नुभयो–‘घरदैलाको क्रममा प्राप्त भएका माया, सद्भाव र शुभेच्छालाई मतमा बदल्नेगरी रणनीति तयार गरिरहेका छौं ।’
पार्टी यस क्षेत्रबाट उम्मेदवार भएका सबै उम्मेदवारलाई बराबर प्रतिस्पर्धी ठानेको उहाँले बताउनुभयो । ‘हाम्रो प्रतिस्पर्धा सबै उम्मेदवारसँग हो, यो सँग खास प्रतिस्पर्धा हुन्छ भन्ने यकीन छैन ।’, उहाँले भन्नुभयो ।
यसअघि तत्कालीन नेकपा माओवादी चिन्हवाला उम्मेदवार नहुँदा कतिपय मत फरक फरक उम्मेदवारलाई दिएको पाइएको सन्दर्भ उठाउँदै ज्वालाले यसपटक ती मतहरु एकीकृत हुने, केही मत राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फ पनि जाने भएकाले अघिल्लो निर्वाचनमा प्राप्त मत परिणाम बमोजिम नतिजा प्राप्त हुने कुरा गलत हुने बताउनुभयो ।
६२ वटै वडामा पार्टीका नेता कार्यकर्ताहरु लागिपरेको, इमान्दार, सच्चा र कार्य सम्पादनमा उत्कृष्ठता हासिल गरेको व्यक्ति उम्मेदवार भएको, यसपटक धेरै राजनीतिक पार्टीहरु मिले ठूलो पार्टी निर्माण भएकाजस्ता कारणले लबशेर बिष्टको जीत यात्रा भएको उहाँले बताउनुभयो ।

