Tuesday, February 17, 2026

चार बर्षपछि नारायण श्रेष्ठ एमालेमै फर्किए

ताजा / भरखरै प्राप्त

मनहरी–फागुन ५ गते । नेकपा एमालेबाट बिद्रोह गरी नेकपा एकीकृत समाजवादीमा लागेर मनहरी गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका नारायण श्रेष्ठ चार बर्षको अन्तरालमा पुनः एमालेमै फर्किनु भएको छ ।

मनहरी गाउँपालिका वडा नं ६ भुलचोकस्थित पार्टी कार्यालयमा आयोजित घर फर्क कार्यक्रम मार्फत श्रेष्ठसहित ७० जना नेकपा एमालेमा प्रवेश गरेका हुन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीका तर्फबाट अध्यक्षका उम्मेदवार बन्नु भएका श्रेष्ठले १ हजार ६ सय १४ मत प्राप्त गर्नु भएको थियो ।

लामो समयदेखि विद्यार्थी र युवा राजनीतिमा संलग्न भई पार्टीको मूल नेतृत्वमा पुग्नु भएका श्रेष्ठ नेकपा एमालेका तत्कालीन उपाध्यक्ष हुनुहुन्थ्यो । श्रेष्ठ पार्टी विभाजनसँगै ठूलो संख्यामा नेकपा एकीकृत समाजवादीतर्फ लाग्नु भएको थियो । उहाँसगै लाग्नु भएका अन्य धेरै नेता कार्यकर्ता पुरानै घरमा फर्किसकेका छन् ।

श्रेष्ठलाई घरफर्क अभियानमार्फत पार्टीमा जोडाउनका लागि नेकपा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर क्षेत्र नं २ का उम्मेदवार महेशकुमार बर्ताैला, बागमती प्रदेश कमिटी सदस्य तथा निर्वाचन परिचालन कमिटीका मनहरी संयोजक एकराज उप्रेती, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष तथा निर्वाचन परिचालन कमिटी सचिव हिदम लामा, संविधानसभा सदस्य राजाराम स्याङ्तान, गोविन्दराम चेपाङ लगायत नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

घर फर्क अभियानलाई सम्बोधन गर्दै श्रेष्ठले एकापसमा आएको फुटले पार्टीको हित नभएको र स्थानीय सरकारमा शून्य उपस्थिति हुँदा जनतासँग पार्टी टाढिने अबस्था आएकाले आगामी दिनमा सुधारेर मजबुत नेकपा एमाले निर्माणका लागि भूमिका निर्बा हुने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

नेकपा एमाले ६ नं वडा कमिटी अध्यक्ष गोपीलाल मुक्तानको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा मकवानपुर क्षेत्र नं २ का उम्मेदवार महेशकुमार बर्ताैला, नेताहरु एकराज उप्रेती, हिदम लामा, हेमलाल उप्रेती लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

लोकप्रिय

Related Articles