Tuesday, February 17, 2026

कैलाश–राक्सिराङका मतदाता भेटेर फर्किए महेश बर्ताैला, भन्छन्–‘मतदाताको अपार मायाँ पाएँ’

ताजा / भरखरै प्राप्त

मनहरी–फागुन ४ गते । विघटित प्रतिनिधि सभामा सत्तारुढ दलका प्रमुख सचेतक समेत रहनु भएका नेकपा एमालेका केन्द्रीय सदस्य महेशकुमार बर्ताैलाले मतदातासँगको अन्तरक्रियालाई तीब्र पार्नु भएको छ ।

आसन्न फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुर क्षेत्र नं २ बाट दोस्रोपटक चुनावी मैदानमा होमिनु भएका बर्ताैलाले कैलाश र राक्सिराङ गाउँपालिकाका दुर्गम बस्तीहरुमा मतदाता भेटघाट तथा जनसभाहरुमा सहभागिता जनाउनु भएको हो ।

‘सांसद भएर राक्सिराङ र कैलाश क्षेत्रका दुर्गम गाउँका मान्छेका दुःखहरुलाई संसद बैठकमा सम्बोधन गरेको र जनताका दुःखमा सहभागी भएको क्षण सम्झेर मतदाताले आशिर्वाद दिनु भएको छ’, उम्मेदवार बर्ताैलाले भन्नुभयो–‘जनताका जनजीविका विषय र भौतिक पूर्धाधार विकासतर्फका गतिविधिहरुलाई पनि नजिकबाट नियाल्ने संगाल्ने अबसरको रुपमा घरदैलो अभियानलाई लिएको छु ।’

उहाँले आफूले ३२ महिना सांसद भएर संसदमा खेलेको भूमिका सम्झन सबैलाई आग्रह गर्नु भएको छ । भूमि समस्या सम्बन्धी बिधेयकलाई प्रतिनिधिसभाबाट पारित गराउने बिषय, मध्यवर्ती र निकुन्जका समस्या समाधानका लागि तत्कालीन काँग्रेससँग मिलेर गरिएका प्रयासहरु जनताले नजिकबाट हेरिरहेको र त्यसको मूल्यांकन भइरहेको बर्ताैलाले बताउनुभयो । ‘मध्यवर्ती क्षेत्रमा मानव र बन्यजन्तु द्वन्द्वका बिषय होस् वा मध्यवर्ती क्षेत्रको सीमाक्षेत्र घटाउने प्रस्ताव नै किन नहोस् मैले दृढताका साथ संसदमा बिषयहरु लगेको छु’, बर्ताैलाले भन्नुभयो–‘विकास निर्माणका काममा पनि सरकारको ध्यानाकर्षण गराउँदै आवश्यक पहलकदमीमा बजेट बिनियोजनमा भूमिका निर्बाह गरेकै कारण मतदाताले मलाई न्यायपूर्ण व्यवहार गर्नु भएको छ ।’

उहाँले लोकतान्त्रिक अभ्यासको कडीमा उभिएपछि जस्तोसुकै परिस्थितिको सामना गर्न तयार हुनुपर्ने भन्दैै आफूले निर्वाचनमा ब्यक्त गरेका प्रतिवद्धताहरु कहिल्यै नबिर्सने प्रण गर्नुभयो ।

उहाँले सोमबार साँझ मनहरी बजारस्थित पार्टी कार्यालयमा उपस्थित भएर कार्यकर्ता भेलामा आफ्ना कुरा राख्दै हुनुहुन्थ्यो ।

यसैबीच भूमि सम्बन्धी समस्याका सम्बन्धमा भूमिहीन, सुकुम्बासी तथा अब्यवस्थित बस्ती संघर्ष समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा ढिला खबर प्राप्त भएकाले आफू आउन नसकेको उहाँले बताउनुभयो ।

‘आयोजकको तर्फबाट ढिलागरी खबर आयो, मैले त्यही दिन राक्सिराङ ४ र ९ मा नपुगी नहुने भएकाले समय दिन पाइनँ’, बर्ताैलाले भन्नुभयो–‘म त्यहाँ पुग्न नपाएपनि भूमि समस्या, निकुन्ज समस्या, जग्गाधनी पुर्जाको पक्षमा कसले कसरी भूमिका खेलेको छ र संसदबाट कसरी बिधेयक पारित गरी लालपुर्जा बितरण गर्ने बाटो खुलेको हो भन्नेबारे सबैले बुझेका छन् । मञ्चमा भाषण ठोकेर होइन, परिणाममुखी काममा हाम्रो नेतृत्वदायी भूमिका छ, नपत्याए संसदका अभिलेखहरु हेरुन् ।’

महेश बर्ताैला कार्यक्रममा अनुपस्थित भएको भन्दै केहीले भ्रम छरेकोप्रति टिप्पणी गर्दै उहाँले भन्नुभयो–‘नेकपा एमाले र महेश बर्ताैलाहरु मासबाटै लोकप्रियता हासिल गरेर आएकाले मासबाट प्राप्त सल्लाहसुझावलाई सदैव सम्मान गर्छ, भाग्दैन ।’

लोकप्रिय

Related Articles