Tuesday, February 17, 2026

बागमतीका संरक्षणकर्मीले भने–‘अन्य प्रदेशले पनि सालक संरक्षणमा चासो लिनू’

ताजा / भरखरै प्राप्त

मनहरी–माघ २७ गते । बागमती प्रदेशभरबाट भेला भएका संरक्षणकर्मीहरुले किसानलाई कुनै पनि हिसावले हानी नगर्ने लोपोन्मुख वन्यजन्तु सालकको संरक्षण अभियान देशका सबै प्रदेशहरुबाट समेत सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् ।

चितवनको माडीमा आयोजित प्रथम बागमती प्रदेश स्तरीय सालक सम्मेलनमा माडी घोषणा पत्र जारी गर्दै सरोकारवालाहरुले यस्तो धारणा सार्बजनिक गरेका हुन् ।

माडी घोषणा पत्रमा देशका बाँकी ६ वटा प्रदेशहरुमा पनि यस्तो अभियान सञ्चालन गर्न आग्रह गरिएको हो । घोषणा पत्रमा सबै सरोकारवालाहरु एकमत भएर सालक संरक्षणमा लाग्नुपर्नेमा जोड दिइएको छ ।

सम्मेलनको सम्बोधन गर्दै बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत केसीले लोप हुँदै गएको सालकबारेको नकारात्मक धारणा घटाएर संरक्षणप्रतिको भावनालाई बृद्धि गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

आगामी दिनमा निर्माण हुने नीति तथा कार्यक्रममा सालक संरक्षणको सबाललाई ध्यानमा राखेर बजेटको समेत व्यवस्था गरिने मन्त्री केसीको भनाइ छ ।

बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव केदार बरालले सालक सम्मेलनबाट बागमती प्रदेशले नयाँ सन्देशको सञ्चार गरेको बताउनुभयो ।

‘अबको केही बर्षभित्र हामी बागमती प्रदेशलाई सालक अध्ययनको हब बनाउन सक्छौं’, सचिव बरालले भन्नुभयो ।
सम्मेलनको औचित्य प्रष्ट पार्दै डिजिवन वन कार्यालय चितवनका प्रमुख बिष्णुप्रसाद आचार्यले सालकलाई किसानको साथीको रुपमा ब्याख्या गर्दै यसको संरक्षण सबैको दायित्व हो भन्ने बुझाउनका लागि सम्मेलन आयोजना भएको बताउनुभयो ।

सम्मेलनमा आचार्यसहित डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेशकुमार चन्द्रबंशी, त्रिभूवन विश्व विद्यालयका उपप्राध्यापक हरि शर्माले सालकको अबस्था, बैज्ञानिक पक्ष र यसको संरक्षणका लागि चालिएका कदमका बारेमा प्रस्तुति दिनु भएको थियो ।

सम्मेलनमा माडी घोषणा पत्र जारी हुनुअघि उपभोक्ता, संरक्षणकर्मी, नियामक निकाय लगायत सबै पक्षबीच दोहोरो अन्तरसम्बाद आयोजना भएको थियो ।

अन्तरसम्बाद, बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको लिखित शुभकामना पत्र तथा प्यानल छलफलका क्रममा उठेका सबालहरुलाई घोषणापत्र मार्फत उजागर गरिएको कार्यक्रम संयोजक एबम् डिभिजन वन कार्यालय चितवनका प्रमुख बिष्णु प्रसाद आचार्यले बताउनुभयो ।

सम्मेलनमा सरकारी र गैरसरकारी क्षेत्रका २५० भन्दा बढी संरक्षणकर्मीको सहभागिता रहेको थियो ।

लोकप्रिय

Related Articles