मनहरी–माघ २७ गते । मकवानपुर जिल्लामै यसबर्ष सबैभन्दा पहिला मनहरी गाउँपालिकाले एचपिभी खोप अभियान सुरु गरेको छ ।
कक्षा ६ मा अध्ययनरत संस्थातग तथा सामुदायिक विद्यालयका बालिकाहरुलाई अनिबार्य खोप लगाउन थालिएको हो ।
माघ २७ गतेबाट सुरु भएको खोप अभियान माघ २९ गते समापन हुने मनहरी अस्पतालका सिनियर अहेब ज्योतिराज लुइँटेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार सामुदायिक र संस्थागत विद्यालयका समेत गरी पालिकाभर १४ वटा खोप केन्द्र स्थापना भएका छन् ।
अभियानको अन्तिम दिन अर्थात माघ २९ गते मनहरी अस्पताललाई नै खोप केन्द्र मानी छुटपुट विद्यार्थीलाई खोप लगाउने कार्यमा सहजीकरण गरिने उहाँले बताउनुभयो ।
मनहरी गाउँपालिकामा कक्षा ६ मा अध्ययनरत ४ सय ५७ जना छात्राहरुलाई एचपिभी खोप लगाउने लक्ष्य राखिएको छ ।
त्यसैगरी विद्यालयको पहुँचबाहिर रहेका अन्य १० जना समेत गरी ४ सय ५७ जनालाई खोप लगाउने लक्ष्य रहेको मनहरी अस्पतालले जनाएको छ ।
पाठेघरको मुखमा हुने क्यान्सरको दर कम गर्नका लागि किशोरावस्थामै यो खोप लगाउने अभियान सरकराले थालेको हो ।
पाठेघरमा हुने क्यान्सका कारण अहिले पनि नेपालमा दैनिक ४ जना महिलाको मृत्यु हुने गरेको तथ्याङ्क छ ।

