मनहरी–पुस ६ गते । चितवनको रत्ननगरमा रहेको न्यू क्यापिटल कलेजले आयोजना गरेको विज्ञान प्रदर्शनीमा पश्चिम मकवानपुरको मनहरी ७ स्थित युनिभर्सल लर्निङ एकेडेमीले पुरस्कार प्राप्त गरेको छ ।
चितवन र मकवानपुरका २८ वटा विद्यालय सहभागी भएको प्रतियोगितामा युनिभर्सल लर्निङ एकेडेमीले तृत्तीय स्थान हासिल गरी नगद ८ हजार रुपियाँ पुरस्कार र प्रमाण पत्र प्राप्त गरेका हुन् ।
कक्षा १० मा अध्ययनरत छात्रहरु सुमित साह, सुविसन प्रजा, अमन राई र छात्राहरु सुगिसा हेम्जन तथा रन्जिता मुक्तानले तयार पारेको ‘नयन’ नाम दिइएको प्रदर्शनीलाई रजत जयन्तीमा प्रस्तुत गरिएको थियो ।
दृष्टिबिहिनहरुलाई हिँड्ने बेलामा अगाडि बाटामा कुनै बस्तु वा अबरोध छ भने त्यसबारे अग्रिम जानकारी गराउने सेन्सरयुक्त डिभाइस विद्यार्थीहरुले बनाएका थिए । जसलाई ‘नयन’ प्रोजेक्ट भनिएको थियो ।
डिभाइस प्रयोग गर्ने दृष्टिबिहिनले बाटोमा अघि बढ्दा ठोकिन नदिनका लागि अलार्म बजेर अग्रिम जानकारी दिने अवधारणा यो प्रोजेक्टको रहेको युनिभर्सल लर्निङ एकेडेमी विज्ञान विभागले जनाएको छ ।
न्यू क्यापिटल कलेज स्थापनाको २५ औं बर्षको अबसरमा आयोजित रजत जयन्तीमा विज्ञान प्रदर्शनीसहित विभिन्न कार्यक्रमहरु आयोजना भएको हो ।
विज्ञान प्रदर्शनी प्रतियोगितामा चितवनको लाइसिएम इन्टरनेशनल मोडल स्कूल प्रथम भई नगद १२ हजारसहित प्रमाणपत्र प्राप्त गर्न सफल भएको थियो ।
त्यसैगरी ज्ञानसुधा बोर्डिङ स्कूल द्वित्तीय स्थान हासिल गरी नगद १० हजारसहित प्रमाण पत्र प्राप्त गर्न सफल भएको थियो ।

