मनहरी । पुस ६ गते । पार्टीको तर्फबाट निर्वाचित भई कार्य सम्पादन गरिरहेका जनप्रतिनिधिलाई नेपाली काँग्रेस मनहरी गाउँपालिका समितिले सम्मान गरेको छ ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा नेपाली काँग्रेस बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँले २०७९ सालको स्थानीय तह निर्वाचनमा मनहरी गाउँपालिका अध्यक्ष निर्वाचित रन्जन कालाखेतीसहित ६ जना वडाध्यक्ष र ९ वटै वडाका पार्टी सभापतिहरुलाई सम्मान गर्नु भएको हो ।
सोही कार्यक्रममा मनहरी क्षेत्रको पार्टी निर्माण र विकासका लागि भूमिका निर्बाह गरेको भन्दै काँग्रेस जिल्ला सभापति बुद्ध लामालाई समेत सम्मान गरिएको थियो ।
पन्ध्रौ महाधिवेसनको पूर्वसन्ध्यामा रहेको काँग्रेसले आफ्नो कार्यकालको अन्तिमतिर पार्टी नेतृत्व स्थापित गर्ने नेतृत्व र जनताको काम गर्ने अबसर पाएका जनप्रतिनिधिलाई सम्मान गरेको हो । सोही अबसरमा विभिन्न पार्टीहरु त्यागेर १० जनाले काँग्रेसको सदस्यता लिएको नेपाली काँग्रेस मनहरीका सभापति प्रकाश बर्ताैलाले बताउनुभयो ।
अहिले नेपाली काँग्रेस नयाँ क्रियाशील सदस्यता बितरण गर्ने, नवीकरण गर्ने तयारीमा छ । पन्ध्रौ महाधिवेसन अगाडि नै गाउँ, वडा, क्षेत्र र प्रदेशको अधिवेसनहरु हुने बताइन्छ । सोही बमोजिम पार्टीका आन्तरिक कामहरुलाई व्यवस्थित गरिएको सभापति बर्ताैलाले बताउनुभयो ।
मनहरी ७ स्थित मनकामना मन्दिरको सभा हलमा आयोजना भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पार्टीमा एकताको भावना विकास गरेर जानुको बिकल्प नरहेको बताउनु भएको थियो ।
नेपाली काँग्रेस मनहरीका सभापति प्रकाश बर्ताैलाको सभापतित्वमा भएको कार्यक्रममा उहाँका राजनीतिक सल्लाहकार समेत रहनु भएका मकवानपुर सभापति बुद्ध लामा, बागमती प्रदेश सदस्य एवम् पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, प्रदेश सदस्य जानुकी लामा, चम्फुरत्न लामा, नवराज उप्रेती, प्रदिप कोइराला, पार्टी जिल्ला सचिव भीमसेन महत, ईश्वर पाठक, सहसचिव इन्दिरा न्यौपाने, मकवानपुर क्षेत्र नम्बर २ (ख) सभापति एवम् मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, महासमिति सदस्य प्रभात दाहाल, राजेश भेटवाल, भरत लामा, लोकतान्त्रिक आदिवासी जनजाति संघका अध्यक्ष पदम तितुङलगायतले धारणा ब्यक्त गर्नु भएको थियो ।

