Wednesday, February 18, 2026

यसरी गरिँदैछ मनहरीको मनकामना मन्दिरमा दशैँको जमरा व्यवस्थापन

ताजा / भरखरै प्राप्त

मनहरी–असोज ४ गते । पश्चिम मकवानपुरको प्रमुख ब्यापारिक केन्द्र मनहरीमा रहेको ऐतिहाँसिक मनकामना मन्दिर परिसरमा गत बर्षहरु झैं यसबर्ष पनि जमरा राखिँदैछ ।

मन्दिरको व्यवस्थापन गर्दै आइरहेको मनकामना सनातन धर्म संरक्षण संस्थाले जमरा राख्ने भक्तजनलाई बितरण गर्ने कुरालाई अझ ब्यापक बनाउन लागेको जनाएको छ ।

संस्थाका अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय अनुसार गत बर्षहरु झैँ यस बर्षको दशैँमा पनि मनकामना मन्दिर परिसरमा रहेको जमराघरमा जमरा राखिनेछ । जमराघरको क्षेत्र सानो भएकाले अन्य क्षेत्रहरुमा पनि यसपटक जमरा राख्ने तयारी छ ।

धार्मिक नियमानुसार पुजापाठ गर्ने र जमरा उमारेर बिजयादशमी (दशैँको टिका) को दिन शुल्क लिएर जमरा बितरण गर्ने संस्थाले जनाएको छ ।

उत्पादन भएको जमरा प्रतिमुठा ५० रुपियाँको रसिद काटी लिन सकिने संस्थाले जनाएको छ । आवश्यकताका आधारमा शुल्क लिएर जमरा बितरण गर्ने तयारी गरिएको संस्थाका अध्यक्ष नारायण सुवेदीले बताउनुभयो ।

त्यसैगरी टपरीमा आफैले लगेर मनकामना मन्दिर परिसरमा जमरा राख्ने र पुजापाठसहित संस्थाको तर्फबाट हुनेहरुको हकमा पनि संस्थाले शुल्क तोकिदिएको छ । त्यसो गर्न चाहनेले प्रति टपरी १ सय रुपियाँको रसिद काटेर जमरा राख्न पाउनेछन् ।

‘गत बर्षहरुमा जमरा हारालुछ भएको देखेका थियौँ’, अध्यक्ष सुवेदीले भन्नुभयो–‘यस बर्ष त्यस्तो नहोस् भनेर दुई स्थानमा जमरा राख्दैछौं र शुल्क लिएर जमारा ब्यवस्थापन गर्दैछौं ।’ जमरा लिन चाहनेले अग्रिम रसिद काटुनका लागि पनि उहाँले आग्रह गर्नुभयो ।

जमरा उत्पादन र हेरचाहमा जनशक्ति र अन्य व्यवस्थापनका लागि खर्च लाग्ने भएकाले शुल्क तोक्नुपरेको उहाँको भनाइ छ ।

कतिपय मानिसहरुले घरमा जमरा राख्न नसक्ने वा नमिल्ने र कतिपयको आफ्नै घर नभएर डेरामा समेत बस्ने अबस्था रहेकाले उहाँहरुलाई समेत मध्यनजर गरी यस्तो व्यवस्था गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो ।

जमराको व्यवस्थापनसँगै मनकामना मन्दिर परिसरमा यस बर्ष पनि रोटे पिङ, लिंगे पिङ, बालबालिकाका लागि साना पिङहरु, लिड लाइटको व्यवस्थापन, रंगरोगन, दैनिक दीप प्रज्वलन लगायतका कार्यहरु गरिने संस्थाले जनाएको छ ।

लोकप्रिय

Related Articles