Wednesday, February 18, 2026

मनहरीमा संविधान दिवसमा देखिएनन् महिला, हरायो राष्ट्रिय झण्डा !

ताजा / भरखरै प्राप्त

मनहरी–असोज ३ गते । नेपालको संविधानले महिला सहभागिताको कुरालाई प्राथमिकतामा राखेको छ । अझ राष्ट्रपति, प्रधान न्यायाधीश र प्रधानमन्त्री समेत महिला बनेको देश नेपाल हो ।

स्थानीय सरकार संचालन ऐनमा स्थानीय सरका प्रमुख र उपप्रमुख मध्ये एकजना महिला अनिबार्य तोकिएको छ भने हरेक वडामा एकजना दलित महिला सदस्य हुनुपर्ने प्रावधान नै छ ।

तर, यति समावेशी संविधान जारी भएको दिनलाई उत्सव मान्नका लागि पश्चिम मकवानपुरको मनहरीमा आयोजना भएको कार्यक्रममा महिला सहभागिता लगभग शून्य थियो भन्दा फरक पर्दैन ।

मनहरी अस्पतालमा फलफुल बितरण गर्ने र त्यसपछि रोटरी मार्केटमा दीप प्रज्वलन गर्ने गरी तीन ठूला पार्टीले आयोजना गरेको कार्यक्रममा धन्न मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगर, एमाले नेतृ बिमला कार्की, माओवादी नेतृ इश्वरी सुनारले इज्जत बचाइदिए । माओवादीको छुट्टै कार्यक्रम आयोजना भएकाले ती सहभागीहरु पनि कार्यक्रममा मिसिनाले केही महिला सहभागिता देखिन्थ्यो ।

केही दिन अघि नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संविधान दिवस मनाउनका लागि बहुदलीय बैठक मनहरी ७ स्थित मनकामना मन्दिरमा आयोजना गरेको थियो । उक्त कार्यक्रममा निम्त्याइएको नेकपा एकीकृत समाजवादी भने प्रतिनिधित्व गर्ने पात्र नहुँदा सहभागी नभएको बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने निम्तो थिएन ।

यसरी बैठक आयोजना गरी आफ्ना आफ्ना पार्टीका मानिसहरु अधिकतम बाक्लो रुपमा उपस्थित भएर भब्य कार्यक्रम आयोजना गर्ने भनिएपनि महिला सहभागिता लाजलाग्दो देखिएको हो ।

पार्टीहरुमा महिला नभएर होइन, तयारी पूर्ण रुपमा नहुँदा यस्तो अबस्था देखिएको राजनीतिक पार्टीका नेताहरुले प्रतिक्रिया दिएका छन् । आगामी दिनमा यस्तो अबस्थालाई सुधारेर लैजाने समेत उनीहरुले बताएका छन् ।
यता कार्यक्रमको तयारी अत्यन्तै फितलो देखिएको थियो ।

राष्ट्रिय रुपमा मनाइएको संविधान दिवसका लागि तीन ठूला दलहरुले एउटा ब्यानर समेत बनाएको देखिएन भने तीनजनाले मन्तब्य ब्यक्त गरिरहँदा एउटा स्पिकर, माइक समेत व्यवस्था गर्न सकेन । अरु त अरु राष्ट्रिय झण्डा समेत दलहरुले सम्झेनन् । कार्यक्रममा राष्ट्रिय गान र सहिदको सम्झनामा मौनधारण भने गरिएको थियो ।

कार्यक्रममाको व्यवस्थापकीय पक्ष कमजोर भएपनि जेनजी आन्दोलनको बाछिटामा दलहरुले कार्यक्रम आयोजना गर्न सक्नु र संविधानवादको पक्षमा उभिन सक्नु नै उपलब्धी भएको बिश्लेषण गरिएको छ ।

स्मरणीय कुरा के छ भने भदौ २४ गते रोटरी मार्केटमा रहेको नेकपा एमालेको कार्यालय, मनहरी बजारमा रहेको नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको कार्यालयमा तोडफोड भएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु रन्जन कालाखेती, प्रकाश बर्ताैला, ठाकुरराम तितुङ, पदमबहादुर तितुङ, भीमसेन लामासहितका नेता कार्यकर्ता सहभागी थिए । त्यसैगरी नेकपा एमालेका एकराज उप्रेती, हेमलाल उप्रेती, नवीन सुवेदी, बिमला कार्की, बीरेन्द्र डिसी, गौतम लामा लगायतका नेता कार्यकर्ता र माओवादी केन्द्रका सीता पुलामी मगर, रामहरि सुवेदी, आनन्द घलान, दिलबहादुर स्याङ्बो, प्रकाश थापा लगायतका नेता कार्यकर्ताको सहभागिता देखिन्थ्यो ।

लोकप्रिय

Related Articles