मनहरी–असोज ३ गते । संविधान दिवसको अबसरमा मनहरीमा तीन ठूला राजनीतिक दलहरुले दीप प्रज्वलन र बिरामीहरुलाई फलफुल बितरण गरेका छन् ।

नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त रुमा संविधान दिवस मनाएको हो । संविधान दिवसका अबसर पारेर उनीहरुले शुक्रबार साँझ मनहरी अस्पतालका बिरामीलाई फलफुल बितरण गरेका थिए भने रोटरी मार्केटमा दीप प्रज्वलन कार्यक्रम गरेका थिए ।
दीप प्रज्वलन कार्यक्रममा काँग्रेस सभापति प्रकाश बर्ताैला, एमाले अध्यक्ष नवीन सुवेदी र माओवादी अध्यक्ष बिरबहादुर घलान आनन्दले सम्बोधन गर्नु भएको थियो । उहाँहरुले संविधानले आम नेपाली जनतालाई अधिकार दिएको भन्दै संविधान मास्ने गतिविधि कदापि मान्य नहुने धारणा राख्नु भएको थियो ।
कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष तथा नेपाली काँग्रेस प्रदेश ख समितिका सभापति रन्जन कालाखेती, नेकपा एमाले बागमती प्रदेश सदस्य तथा निवर्तमान मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, नेकपा माओवादी केन्द्रकी बागमती प्रदेश कमिटी सदस्य तथा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर लगायत जिल्ला तथा गाउँतहका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
यसैबीच नेकपा माओवादी केन्द्रले मनहरी बजारको मुख्य चोकमा छुट्टै दीप प्रज्वलन समेत गरेको छ । राक्सिराङ गाउँ कमिटी र मनहरी गाउँ कमिटीको संयुक्त व्यवस्थापनमा दीप प्रज्वलन आयोजना गरिएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
संयुक्त कार्यक्रम आयोजना गर्ने सहमति भएपनि माओवादीले छुट्टै अर्काे कार्यक्रम आयोजना गरेपछि निर्धारित कार्यक्रम केही ढिलाई भएको थियो ।

