Wednesday, February 18, 2026

मनहरी गाउँपालिका लुटियो भनेर भिडियो भाइरल, बास्तविकता चाहिँ यस्तो

ताजा / भरखरै प्राप्त

मनहरी–भदौ २८ गते । १३ देखि २८ बर्षका उमेर समूह अर्थात जेन जी समूहले देशभर गरेको आन्दोलनको दोस्रो दिन भएको भौतिक क्षतिहरुका सम्बन्धमा अहिले सर्वत्र आलोचना भएको छ ।

संघीय प्रशासनिक भवन सिंहदरबारदेखि राष्ट्रप्रमुख शितल निवाससम्म जलेका र जलाइएका थुप्रै घटनाहरु सार्बजनिक भइरहँदा मनहरी गाउँपालिकाको मनहरी गाउँपालिका ९ स्थित प्रशासनिक भवनमा समेत आन्दोलनकारी पसेर आगजनी गरेका छन् ।

सोही क्रममा मनहरी गाउँपालिकामा लुटपाट, नगदै लुटियो भन्ने ढंगले अहिले भिडियो भाइरल भइरहेको छ । त्यो भिडियो रुटिन अफ मनहरी नामक फेसबुक पेजमा अपलोड भएको छ भने हजारौं मानिसले भिडियो हेरेका छन् । अन्य विभिन्न व्यक्तिहरु तथा फेसबुक पेजहरुबाट समेत उक्त भिडियो हजारौं पटक शेयर भएको देखिन्छ ।
भिडियोमा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको कार्यकक्ष र अर्काे एक कोठामा ४ जना आन्दोलनकारीहरु छिर्छन् ।

उनीहरुले सिसि क्यामेरापटि हेरेर छोप्ने प्रयत्न गर्छन्, कम्प्युटर, प्रिन्टर, राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो पनि निकालेर बाहिर लगिरहेको भिडियोमा देखिन्छ । गाउँपालिकाकै सिसि क्यामेर फुटेजबाट निकालिएकोजस्तो देखिने उक्त भिडियो पूरापूर मिक्सिङ गरिएको छ । र, भिडियोमा चोर र लुटेराहरुलाई चिनौँ भनेर भ्वाइस ओभर पनि छ ।

उक्त भिडियो गाउँपालिकाले निकालेर भ्वाइस ओभरसहित मिक्सिङ गरेर सामाजिक सञ्जालका लागि उपलब्ध गराइएको हो वा अरु कसैले फुटेज पाएर मिक्सिङ गरिएको हो खुलेको छैन ।

भिडियोमा कम्प्युटर, प्रिन्टर, सम्मान पत्रहरु, फोटोहरु धमाधम झिकिरहेको दृष्य छ । भ्वाइस ओभरमा उद्घोष गरिए अनुसार मृतक परिवारका लागि दिन ठीक पारेर राखिएको १ लाख २० हजार रुपियाँ पनि लगेको भनिएको छ ।

ती कम्प्युटर, प्रिन्टर र अन्य सामान कता लगिए ? भन्ने कुरा यकीन जानकारी छैन । भिडियोको उद्घोषण सुन्दा गाउँपालिकालाई लुटियो र नगदसहित ती सरसामान लुटेराले नै लगे भन्ने स्पष्ट रुपमा बुझ्न सकिन्छ ।

अझ फेसबुकमा अपलोड भएको फोटो तानेर भिडियोमा हाल्दै गाउँपालिका लुट्ने मुख्य अभियुक्त भनेर मनहरी गाउँपालिका ७ का युवा खेलाडी सुजन पाठकको फोटो देखाइएको छ ।

भएको चाहिँ यस्तो रहेछ
भिडियोमा देखिएका व्यक्तिहरुमध्ये एक हुन् मनहरी गाउँपालिका वडा नं ७ निवासी व्याडमिन्टन खेलाडी सुजन पाठक ।

पाठक विद्यार्थी नेता हुन । जेन जी समूहभित्रकै हुन् । बिगतदेखि नै राजनीतिक क्रियाकलाप, विद्यार्थी अधिकारका लागि क्रियाशील पाठक तत्कालीन केपी शर्मा ओलीले २०७७ पुस ५ गते संसद बिघटन गरेपछि नेकपा एकीकृत समाजवादीमा आबद्ध थिए ।

तर, उक्त पार्टी पनि परित्याग गरी उनी स्वतन्त्र जीवन बिताइरहेका थिए । पाठक भन्छन्–भदौ २३ गते काठमाडौँमा विद्यार्थीहरु मारिएपछि सोही साँझ मनहरी बजारमा उनीहरुको सम्झनामा मैनबत्ती प्रज्वलन गर्ने लगायत कार्यमा हामी सरिक भयौँ ।

विद्यार्थीहरुलाई बर्बरतापूर्वक हत्या गरिएको आक्रोशमा त्यतिबेला नेकपा एमालेनिकट अनेरास्ववियु, नेपाली काँग्रेस निकट नेविसंघ, माओवादी केन्द्रनिकट अनेरास्वविय क्रान्तिकारीका नेताहरु समेत मनहरी बजारमा भेला भई श्रद्धान्जली व्यक्त गरेका थिए ।

भोलिपल्ट बिहान फेरि प्रदर्शन गर्ने भनी स्वतस्फूर्त रुपमा मानिसहरुले फेसबुकमा लेखे । सबैजना बिहान फेरि मनहरी बजारमा जम्मा भएर माइकिङसहित राजमार्गमा टायर र पुत्ला जलाउने काम भयो । यो काममा झण्डै ५ सयभन्दा बढी मानिसहरु सहभागी थिए ।

मनहरी बजारको मुख्य बजारमा टायर बालेर ११ बजे सबै कार्यक्रम बिसर्जन गर्ने भन्ने पूर्व योजना हाम्रो थियो र सबै विद्यार्थी नेताहरुको थियो । तर, बिस्तारै मास बढ्दै गयो र प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउबाको पुत्लासहित इलाका प्रहरी कार्यालयतर्फ भिड बढ्यो ।

त्यहाँ पनि टायर बल्यो, नाराजुलुश भए ।
त्यसपछि भिड यी विद्यार्थी नेताहरुको नियन्त्रणबाहिर हुँदै गयो । भिड नियन्त्रणबाहिर जान थाल्यो । हेर्दाहेर्दै रोटरी मार्केटमा रहेको नेकपा एमालेको कार्यालयबाट कम्प्युटर, दराज, कार्पेट, पोडियम, टेबल लगायत सामग्री झिकेर सडकमा ल्याएर बाले । त्यसैगरी काँग्रेस र माओवादी कार्यालयका सामानहरु पनि ध्वस्त पारिए ।

भीड बिस्तारै ७ नं वडा कार्यालय बिजौनातर्फ अघि बढ्यो । भीडमा बिहान सहभागी भएका मान्छेहरुभन्दा नयाँ मान्छेहरु बढ्दै गए । ७ नं वडा कार्यालय जलाउँदा त्यहाँ भूमिसम्बन्धी कागजपत्रहरु जल्ने स्थिति भएपछि वडाध्यक्षसहित अन्य सुझबुझ भएका मानिसहरुले कार्यालय जल्न दिएनन् ।

त्यही टोली अन्य मान्छेहरु थप भएर मनहरी गाउँपालिका ९ स्थित प्रशासनिक भवन पुग्यो । रजैया, हाँडीखोलातर्फका मानिसहरु पनि थपिए । परिस्थिति जेन जी वा विद्यार्थी नेताहरुको नियन्त्रणमा थिएन् । आक्रोश बढ्दो थियो ।

एकपछि अर्काे हुँदै देशभर वडा कार्यालय, नगरपालिका, गाउँपालिका जलाइएको खबरहरु सामाजिक सञ्जालमा फैलँदै थियो । मनहरी गाउँपालिका जलाउनका लागि पनि मानिसहरु तयार भए । राजनीतिक दलमा आबद्ध नेताहरु नै त्यतिखेर मनहरी गाउँपालिका जलाउन तयार भएर भीडलाई आक्रोशित पारिरहेका थिए ।

गाउँपालिकामा क्षति पु¥याउनु हुँदैन बरु कार्यालयका केही सामानहरु बाहिर ल्याएर नष्ट गरौँ भनेर सल्लाहमै हामी केही युवाहरु कार्यालय भित्र पसेका हौँ । त्यहाँ भेटिएका कम्प्युटर, सिसी क्यामेराको मोनिटर, राष्ट्रपति र प्रधानमन्त्रीका तस्वीरहरु बाहिर ल्याएर जलाएका हौँ । त्यो सबैले देखेको कुरा हो । न त हामीले ती सामानहरु लुटेर घर ल्याएका हौँ, न त नगद पैसा नै हामीले फेला पा¥यौँ ।

सामाजिक सञ्जालहरुमा आइरहेको भिडियोमा हामी चोर हौँ, लुटेरा हौँ, अभियुक्त हौँ भनेर जबरजस्त भिडियो मिक्सिङ गरी उद्घोषणसहित चरित्र हत्या गरिएको छ । त्यो घटना विद्यार्थी भाईहरु मारिएकामा हामीभित्र देखिएको आक्रोशको रिफ्लेक्ट भएको मात्र हो ।

हामी पनि राजनीति बुझेका युवाहरु हौँ । लुट्ने, चोर्ने धन्दामा न पहिला थियौँ, न त अहिले त्यस्तो लोभ छ । अनाहकमा हामीलाई गाउँपालिकाको भिडियो फुटेज सार्बजनिक गरेर चोर र लुटेरा जस्तो बनाइएको छ । अभियुक्त भनिएको छ ।

यो कुरा पूरै खेदजनक छ । मैले यो किन कसरी भयो भनेर गाउँपालिका अध्यक्ष रन्जन कालाखेती काकालाई भनेको छु । उहाँले ‘मलाई थाहा छैन’ भनेर टारिरहनु भएको छ । हामीलाई त्यो कुरा मान्य छैन । जेन जी आन्दोलनमा मारिएका भाईहरुको हत्याको जिम्मा तत्कालीन सरकारले लेओस् ।

हामी पनि सरकारी सम्पत्ति क्षति गरेबापत के सजाय भोग्नुपर्ने हो भोग्छौं । तर, गाउँपालिका नै जलाउनका लागि केही अगुवाहरुसहितको भीड तयार थियो । उनीहरुले वातावरण उत्तेजित बनाइरहेका थिए । जलाउनु हुन्न, तोडफोड मात्रै गरौँ भनेर हामी भित्र छिरेका हौं ।

खासमा युवाहरुलाई उत्तेजित पार्ने उनीहरु पनि त दोषी होलान् नि । आवश्यक पर्दा हामी ती सबैको नाम हामी भन्न सक्छौँ । अहिले सामाजिक सञ्जालमा चोर, लुटेरा भनेर हामीलाई देखाउने कुराले राम्रो सन्देश दिएको छैन । हामी जेन जी समूहमै छौं ।

यसबारेमा हामी टिममै ब्यापक छलफलमै छौँ । आबेगमा आएर बनेको परिस्थिति र त्यसले निम्त्याएको क्षतिबारे हामीलाई पश्चाताप छ । माफी पनि माग्न चाहन्छौँ । तोके अनुसारको सजाय पनि भोगौंला ।

तर, यसरी अभियुक्त बनाएर ब्यक्तिगत रुपमा चोर, डाँका, लुटेरा भन्नका लागि गाउँपालिकाले कसलाई अधिकार दिएको हो ? किन दिएको हो ? गाउँपालिकाले त्यो फुटेज अनाधिकृत मान्छेलाई कसरी र किन उपलब्ध गरायो ? यो प्रश्नको जबाफ गाउँपालिकाले दिनुपर्नेछ ।


(मनहरी लाइभ डटकमका सम्पादक शिवकुमार काशी र सुजन पाठकबीचको कुराकानीमा आधारित)

लोकप्रिय

Related Articles