मनहरी–भदौ २४ गते । पश्चिम मकवानपुरको मनहरीमा पनि कफ्र्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मनहरी गाउँपालिका ७ बिजौनादेखि मनहरी गाउँपालिका ९ रजैयासम्मको क्षेत्रमा कफर््यु आदेश जारी गरेको हो ।

अर्काे सूचना जारी नभएसम्म मंगलबार दिउँसो १ बजेबाट कफ्र्यु आदेश जारी भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक बिशाल सापकोटाले बताउनुभयो । कफ्र्यु आदेश जारी भएसँगै नेपाली सेना परिचालन भएको जनाइएकोक छ ।
मनहरीमा मंगलबार बिहानैबाट जेन-जीले सुरु गरेको आन्दोलन बिस्तारै उग्र बन्दै गएको छ । आन्दोलनकारीले रोटरी मार्केटमा रहेको नेकपा एमाले र मनहरी बजारमा रहेको नेपाली काँग्रेसको कार्यालयका फर्निचर, कम्प्युटर लगायत सामग्रीहरु निकालेर तोडफोड गरी आगजनी गरेका थिए ।
बिहानैदेखि मनहरी बजारको मुख्य चोक र इलाका प्रहरी कार्यालय अगाडि टायर बालेर प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवको पुत्ला समेत दहन गरिएको थियो ।
उनीहरुले पुराना पार्टी र नेताहरुका नामै तोकेर नाराजुलुश गरेका थिए । आन्दोलनमा जेन जी पुस्ताका युवाहरु छन् भने विद्यार्थीको नेतृत्व गरिरहेको नेताहरु समेत सहभागी थिए ।

