Wednesday, February 18, 2026

घेवा भइरहेको घरमा चट्याङ पर्दा मनहरीमा एकको मृत्यु ११ जना घाइते

ताजा / भरखरै प्राप्त

मनहरी । भदौ ३ गते । मनहरी गाउँपालिका वडा नं ६ हाङलाङमा मृतकको घरमा घेवा (किरिया) भइरहेकै ठाउँमा परेको चट्याङका कारण १ जनाको मृत्यु भएको छ ।

घटना मंगलबार साँझ ४ः३० बजेतिर भएको हो । तामाङ समुदायमा मृतकको घरमा अन्तिम दिन गरिने घेवामा मानिसहरुको ठूलै जमघट हुने गर्दछ । त्यही बेला च चट्याङ पर्दा अकल्पनीय घटना भएको हो ।
केही दिनअघि मृत्यु भएका मानबहादुर घलानको तामाङ संस्कार अनुसारको अन्तिम किरिया (घेवा) भइरहँदा अकस्मात चट्याङ परेको हो ।

चट्याङलगत्तै ४६ बर्षका बिशाल ब्लोनको घटनास्थलमै ज्यान गएको मनहरी गाउँपालिका ६ नं वडाध्यक्ष युवराज थपलियाले बताउनुभयो ।

घटनापछि प्रहरी चौकी सुनाचुरीको टोली तत्कालै र इलाका प्रहरी कार्यालय मनहरीको टोली दोस्रो चरणमा घटनास्थल पुगेको छ । घटनामा परी घाइते भएका ११ जनालाई उपचारका लागि साँझसम्ममा मनहरी अस्पताल ल्याइएको मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताउनुभयो ।

मनहरी अस्पतालमा आइपुगेका घाइतेहरुमा १२ बर्षीय सुजन घलान, १२ बर्षीया बर्षा घलान, १६ बर्षीय सन्तोष घलान, ७२ बर्षीया सानुमाया घलान, ३७ बर्षीय राजकुमार घलान, ३२ बर्षीय शान्ति घलान र उनकी २ बर्षीया छोरी सारा घलान रहेकी छिन् ।

त्यसैगरी ५० बर्षका प्रमाणसिंह तितुङ, ४४ बर्षीय पानबहादुर मुक्तान, ३४ बर्षीय प्रेमबहादुर घलान र १२ बर्षीय आर्यन तितुङ चट्याङमा परी घाइते भएका छन् ।

घाइतेहरुको उपचार मनहरी अस्पतालमा जारी छ । गम्भीर प्रकृतिका बिरामी नरहेकाले मनहरी अस्पतालमै जाँच गरी उपचारको व्यवस्था मिलाइएको अस्पतालकी प्रमुख डाक्टर रशमी झाले बताउनुभयो ।

घटनास्थलमै रहेको मृतकको शव पोष्टमार्टमका लागि हेटौँडा लैजान शव बाहनको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष कालाखेतीले बताउनुभयो ।

घटना लगत्तै मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती मनहरी अस्पताल पुग्नु भएको थियो । उहाँले घाइतेहरुको उद्धार लगायतका कार्यहरुमा समेत सहयोग गर्नुभयो ।

अध्यक्ष कालाखेतीले सबै घाइतेहरुको उपचार निःशुल्क गरिने भन्दै २ बर्षीय घाइते सारा घलानको परिवारका लागि आवश्यक खाजा खाना लगायत व्यवस्थापका लागि ब्यक्तिगत रुपमा नगद १० हजार रुपियाँ हस्तान्तरण गर्नुभएको छ ।

लोकप्रिय

Related Articles