असार–साउन महिना किसानको पर्व नै हो । महिना मानो खाएर मुरी उब्जनी गर्ने महिना भनेर यो सिजनलाई ब्याख्या गरिन्छ । यतिखेर पहेँलपुर भएर धान पाकेको धान काट्ने चटारो एकातिर हुन्छ भने धान रोपाईं गर्ने कामले पनि उत्तिकै किसानहरु ब्यस्त हुन्छन् ।
जल, मल र बलको अथक परिश्रम पश्चात् पाकेको धानको बालाले खेतका आलीहरु नाघिरहँदा भने किसानको छाती ढक्क फुल्छ । आफ्नो मिहेनतको फल देखेर । यतिखेर खेत ,रमाइलो त हुन्छ नै । किसानले पसिनाको पोखरीमा पौडी खेलेर फलाएको धान जब पाक्न थाल्छ राता रात बजार मुल्य घटेर तल पुगिसकेको हुन्छ । एक जना किसानले बीउ उमार्दादेखि धानको बाला झुल्दासम्ममा भएको हिसाब हातका औंला भाँची भाँची गर्दा लगानी नउठेपछि निरास भएर चोक चौतारिमा दुखेसो पोखेको सुन्न थालिएको छ । भन्न त नेपाललाई कृषि प्रधान देश भनेर चिनिन्छ । यहाँको कुल जनसंख्याको ८० प्रतिशत मानिस कृषिमा निर्भर रहेको देखिन्छ । किसानले धानको खेतती गरेर धान होइन, भूस बेचिरहेका छन् ।
किसानले धान उब्जाएर बेच्दा प्रति किलोग्राम रु १६ देखि १९ मा किनबेच हुन्छ । त्यहीँ धान चामल भएर आउँदा प्रति किलोग्राम रु १०० देखि १८० सम्म पर्छ । कुनै बेला रेडियो नेपालमा धनीलाई त धन माथि धनै छ धनै छ, गरिवलाई चमेली ऋणमाथि ऋणै छ’ भन्ने गीत बज्थ्यो । त्यो गीत अहिले पनि किसानहरुका लागि समयानुकूल नै भइरहेको छ ।
देशमा निरुङ्कुश राणाशासनको अन्त्य हुँदै बहुदलीय प्रजातन्त्र ,संघीय लोकतान्त्रिक गणतन्त्रमा पुगिसक्दा पनि किसानको अबस्था उस्ताको उस्तै छ । समय र परिस्थिति अनुसार विभिन्न व्यवस्थाहरु परिवर्तन भए । तर किसानले कहिल्यै बिहानीको प्रभातको आभाष गर्न सकेको छैन । हामीले बिभिन्न सन्चार माध्यमहरुमा सुनेका र देखेका छौ । तरकारी र दूधको बजार मुल्य नपाउँदा सडकमा पोखाएको । यसको समाधान गर्नुको सट्टा सट्टा उल्टै रमितेको रुपमा मुखदर्शक बनिरहे हाम्रो स्वाँठ सरकार ।
यो देशमा व्यवस्था फेरिन्छ, अबस्था उस्तै, चित्र फेरिन्छ । चरित्र उस्तै छ । जुन जोगी आएपनि कानै चिरेका । किसानको पक्षमा बोल्ने सपुतको जन्म यो देशमा खोइ किन भएन ? राज्यले बर्सेनी भारी कृषिमा लगानी गर्ने भाषण प्रत्येक जेठ महिनाको १५ गते बजेट भाषणका दिन मात्रै सीमित भइदिन्छ । किसानको लागि समयमा बीज र बिषादी आउँदैन । भाषणमा चाहिँ कृषि अनुदान रे । कृषि अनुदानमा छुटेका योजनाहरु संघ प्रदेश हुँदै गाउँपालिकासम्म आइपुग्दा तुहिसकेको हुन्छ ।
किसानलाई ओठे आश्वासन दिने संघ सँस्थाहरु त कति छन् कति ? काम गर्ने भने एउटा पनि देखिँदैन, देखिन्छ त पहुँच वालाहरुको मात्रै । यो गर्छु र त्यो गर्छु भनेर बिगुल फुक्ने मात्रै हो । खेतीबालीबाट प्राप्त भएको फल र वा पारिश्रमिक किसानले खुसीको सास फेर्न सकेको छैन । देश चलाउनेहरु अन्न नै खाएर बाँचेका हुन्छन् । अन्नदातालाई खोई न्याय दिन सकेको ? बोल्नेको पिठो बिक्ने नबोल्नेको चामल पनि नबिक्ने भएको छ यहाँ ।एकबाली उठाएर अर्को बाली लगाउन धौ धौ छ किसानलाई ।
म यो देशको किसान हुँ भनेर छाती फुलाएर बोल्ने दिन कहिले आउँछ किसानको ? यो पश्न तिनै तहका सरकारलाई हो । यदि नेपाललाई गरिबीको रेखाबाट माथि उठाउने हो भने किसानलाई उठाउनु जरुरी छ । किसानलाई पनि उच्च मानसम्मान दिनुपर्छ।किसानले उब्जाएको अन्नलाई बिचौलियाको हातमा होइन उचित मुल्य सहितको बजारको ब्यबस्थापन हुनुपर्छ ।अनिमात्र किसानले आफ्नो परिश्रमको मुल्यांकनको अनुभुति गर्छ। रातदिन कोदाली चलाएर उठेका हातका ठेलाले न्याय पाउँछन् । पसिनाको थोपालाई मोतीका दानासँग तुलना गर्नेछन् ।
जय किसान जय अन्नदाता।
-लेखक विष्णु मुक्तान ब्रह्मकाली आधारभूत विद्यालय मनही ७ का शिक्षक हुनुहुन्छ ।

