मनहरी–असार ३२ गते । मकवानपुर र चितवनको सीमावर्ती क्षेत्रमा पर्ने मनहरी गाउँपालिका ६ खयरघारीमा तिलेश्वर महादेव मन्दिरको स्थापना गरिएको छ ।
संघीय सरकारका अनुदान र स्थानीय जनसहभागितामा मन्दिर निर्माण सम्पन्न गरिएको मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेश कार्कीले बताउनुभयो ।
आगामी साउन महिनाको पहिलो सोमबार अर्थात साउन ५ गते विधिपूर्वक मन्दिरमा प्राणप्रतिष्ठा गर्ने तयारीलाई अन्तिम पारिएको कार्कीले बताउनुभयो ।
मनहरी गाउँपालिकाको २३ लाख रुपियाँ र जनश्रमदान ४ लाख ६ हजार ३८४ रुपियाँ समेत गरी कूल २७ लाख ६ हजार ३८४ रुपियाँ लगानीमा मन्दिर निर्माण सम्पन्न गरिएको हो ।
संघीय सरकारको अनुदान अन्तर्गत मनहरी गाउँपालिकाले बजेट कार्यान्वयन गरेको हो ।
गत आर्थिक बर्षमा मनहरी गाउँपालिकाले ५ लाख रुपियाँ लगानी गरी अपूरो बनेको मन्दिर परिसरलाई यसपटक संघीय अनुदानमार्फत बजेट लगानी गरी सम्पन्न गरिएको हो ।
स्थानीय सुनाचुरी सामुदायिक वन लगायत अन्य निकाय र व्यक्तिहरुको पनि मन्दिरमा योगदान रहेको छ ।
लामो समयदेखि मन्दिर निर्माणका लागि विभिन्न निकायहरुमा आग्रह गर्दै भक्तजनहरुसँग समेत आवश्यक समन्वय गरी मन्दिर निर्माण कार्यलाई अन्तिम रुप दिइएको हो ।

