राक्सिराङ–असार ११ गते । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं ४ पन्जनीका गाउँलेले जनश्रमदान गरी बाटो मर्मत गरेका छन् ।
बर्षायाम लागेलगत्तै जनश्रमदानबाट सुरु भएको बाटो मर्मत कार्यले पूर्णता पाएसँगै दुंगुखोला दोभानदेखि पन्जनी गाउँसम्मै मोटर चल्ने अबस्था रहेको स्थानीय युवा राजुमान थिङले बताउनुभयो ।



गाउँलेहरुले १ किलोमिटर बाटा मर्मत कार्य गरेर अटो, बोलेर भ्यान लगायत सवारी साधनहरु आवत जावत गर्न सक्ने बनाएको थिङले जानकारी दिनुभयो ।
पन्जनी टोल विकास संस्थाको सक्रियतामा श्रमदान अभियान सञ्चालन गरी बाटो मर्मत गरिएको हो । बर्षायाम लागेदेखि नै बाटोहरु भत्कन सुरु भएकाले स्थानीय बासिन्दालाई आवतजावतमा समस्या भइरहेको थियो । यसअघि ट्रयाक अोपन भएपनि बाटोको स्तरीकरण भइसकेको छैन ।
स्थानीयबासिन्दाले दुंगुखोलादेखि पन्जनीसम्मको बाटोको स्तरीकरणका लागि स्थानीय सरकारसँग माग गरेका छन् । राक्सिराङ गाउँपालिकाको ४ नं वडामा पुग्ने छोटो दूरीको बाटो भएपनि हेलामा परेको भन्दै स्थानीयबासिन्दाले गुनासो समेत गरेका छन् ।
दुंगु दोभानदेखि पन्जनी हुँदै वडा कार्यालयसम्मको बाटो स्तरीकरण गर्न सकेमा रतुवा हुँदै वडा कार्यालय पुग्न हाल प्रयोग हुँदै आएको बाटोको समेत बिकल्प तयार हुने बताइएको छ ।
पन्जनीको बाटो स्तरीकरण हुन सके स्थानीय उत्पादनलाई बजार लैजान सजिलो पर्ने र उत्पादनमा बृद्धि हुने स्थानीय युवा थिङले बताउनुभयो ।
श्रमदान गरी आफू हिँड्ने बाटो बनाउन पाउँदा स्थानीयबासिन्दा समेत खुसी छन् । ‘हामीले कुटो कोदालो प्रयोग गरेर श्रमदान गरेका हौं’, थिङले भन्नुभयो–‘आफ्नो गाउँ आफै बनाउँ भन्ने भावना सबैमा हुनु पनि पर्दछ ।’