मनहरी–असार २ गते । नेकपा एमाले मनहरी गाउँपालिका कमिटीले मनहरी गाउँपालिका नेतृत्वलाई २१ वटा बुँदामा ध्यानाकर्षण पत्र बुझाएको छ ।

पार्टी अध्यक्ष नविन सुवेदीको अगुवाइमा एमालेजनले मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीलाई कार्यकक्षमै गएर ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण बुझाउने कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य हेमलाल उप्रेती, जिल्ला सदस्य बीरेन्द्र डिसी, बिमला कार्की, प्रेस चौतारीका केन्द्रीय सदस्य तथा बागमती सह इन्चार्ज शिवकुमार काशी, नेकपा एमाले गाउँ कमिटीका उपाध्यक्ष बुद्धिराम मुक्तान, सचिव पोशकबाबु बिष्ट, उपसचिव अमृत बर्ताैलासहित नेता कार्यकर्ताहरु सहभागी हुनुहुन्थ्यो ।
ध्यानाकर्षण पत्रमा तत्कालीन समयमा एमाले नेतृत्वको स्थानीय सरकार हुँदा तय भएको पर्यटन विकास सम्बन्धी अबधारणालाई हालको नेतृत्वले हटाएर पालिकाको नाराबाटै पर्यटन शब्द गायब पारिएकोप्रति आपत्ति जनाइएको छ ।
त्यसैगरी मनहरी गाउँपालिकाको राजश्व घट््दो क्रममा रहेको, एमाले नेतृत्वको स्थानीय सरकार हुँदा सुरु भएका गौरवका आयोजनाहरुमा बजेट बिनियोजन नभएको जस्ता बिषयहरु छन् । ध्यानाकर्षण पत्रमा विद्यालय मर्ज गर्ने सन्दर्भ, शिक्षकहरुलाई सरुवाको नाउँमा आतंकित बनाउने कार्य भएको लगायतका बिषयहरु छन् ।
ध्यानाकर्षण पत्रका बुँदाहरु यहाँ प्रस्तुत छ ।
१. हाम्रो पार्टी नेकपा एमालेले नेतृत्व गर्दा २०७४ सालमा नै मनहरी गाउँपालिकालाई समृद्ध बनाउने क्षेत्रहरुमध्ये पर्यटन पनि प्रमुख मानी साविक मनहरी र हाँडीखोला तर्फका क्षेत्रहरुको पर्यटन विकास गर्ने, मिनी सौराहको रुपमा रमौली प्रतापपुरलाई विकास गर्ने लक्ष्य राखेर गाउँपालिकाको नारा नै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारः समृद्ध मनहरीको आधार’ तय गरेका थियौँ । तर, २०७९ सालमा भएको स्थानीय तह निर्बाचनबाट तपाईको नेतृत्वमा सरकार गठन भएपछि पर्यटन शब्द नै हटाएर पर्यटन विकासमा बेवास्ता गरी शून्य बजेट बिनियोजन गर्ने काम भएको छ, यसमा हाम्रो पार्टी आपत्ति ब्यक्त गर्दछ र मनहरी गाउँपालिकाको विकासका लागि पर्यटन क्षेत्र मेरुदण्ड नै हो भन्ने कुरामा थप प्रतिबद्धता ब्यक्त गर्दछ ।
२. मनहरी गाउँपालिका कृषिका लागि उर्बर भूमि हो । मौसमी र बेमौसमी तरकारी खेतीबाट मनग्यै आम्दानी हुने र बीऊको पकेट क्षेत्रको रुपमा विकास गर्न सकिने पर्याप्त आधारहरु समेत भएकाले किसानहरुको संस्थागत विकाससँगै कृषि सामाग्रीहरु, रासायनिक मल, बीउविजन तथा कृषि औजारहरुमा उत्पादन र व्यवसायिकतामा आधारित रही पर्याप्त अनुदानको व्यवस्था होस् ।
३. हाम्रो पार्टीको नेतृत्व हुँदाबखत सुरु भएको शिक्षा सुधारको क्षेत्रलाई थप प्रभावकारी बनाउनका लागि ‘जहाँ विद्यार्थी त्यहाँ शिक्षक’ भन्ने मान्यतालाई आत्मसात गरी विद्यालय मर्ज गर्ने र दरबन्दी मिलान गर्ने कार्य तत्काल कार्यान्वयन गरियोस् ।
४. शिक्षा क्षेत्रको सुधारका नाउँमा नियमित काम गरिरहेका शिक्षक, प्रधानाध्यापक तथा कर्मचारीहरुलाई अप्रत्यासित र आतंकित हुने ढंगले बिगतमा गरिएका सरुवा लगायतका बिषयहरुमा हाम्रो पार्टी चिन्तित छ, आगामी दिनमा यसरी आतंकित बनाउने कार्य रोक्नका लागि अनुरोध गर्दछौं ।
५. किसानले उत्पादन गरेको अन्नबाली, तरकारी, फलफुल, माछा, मासु र दुध लगाएत बस्तुको मुल्य सरकारले निर्धारण गरेको भएतापनि विचौलियाको कारण तोकिएको उचित मुल्य र बजार नपाइरहेको अबस्था छ । यसो हुँदा किसानहरु कृषिकर्मबाट निरुत्साहित हुने र गाउँमै नबस्ने परिस्थिति निर्माण भएकाले स्थानीय सरकारको पहलमा उत्पादित अनाजको समर्थन मूल्य तोक्ने वातावरण बनाउनका लागि ध्यानाकर्षण गराउन चाहन्छौं ।
६. ४० बर्ष मुनिका युवाहरुलाई गाउँमै बस्ने अबस्था सिर्जनाका लागि नवप्रवर्तन कार्य (स्टार्ट अप) मा आवश्यक लगानी, सीप, तालिमको व्यवस्था गरी एक वडामा एक आर्थिक बर्षमा कम्तीमा ५ जना युवालाई यस्तो कार्यक्रममा समावेश गराई स्वरोजगारी सिर्जना गराउने गरी नीति तथा कार्यक्रममा उल्लेख गर्नुहुन ध्यानाकर्षण गराउँदछौं ।
७. मनहरीको गौरवको योजनाको रुपमा रहेको विकासका आधारहरु जस्तै, लामिटार–चकरी सडकको स्तरीकरण गरी मुख्य राजमार्गको बाइपासको रुपमा विकास गर्ने कार्य, बसन्तपुर–डिल्लीपुर सडक, लोथर खानेपानी, मोरंगे ताल, मनहरी–रुपाचुरी सडक सञ्जाल बिस्तार, गोगनपानी भ्यू टावर, मोतीदेवी पार्क, नमूना बोटे बस्ती निर्माण, मनकामना मन्दिर, सुनाचुरी जोगिताल सिंचाई, ज्यामिरे केराबारी सडक, जनजाति संग्रहालय निर्माण, सिद्धकाली धार्मिक पर्यटन विकास को निरन्तर बजेटका लागि ध्यानाकर्षण गराउन चाहन्छौँ ।
८. सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकहरुलाई घरदैलोमै पुगेर सहज हिसावले भत्ता बितरणका लागि आवश्यक सहजीकरण गर्नुहुन ध्यानाकर्षण गराउन चाहन्छौँ ।
९. मनहरी गाउँपालिकाभित्र रहेका अनौपचारिक क्षेत्रमा योगदान गरिरहेका श्रमिकहरुको तथ्याङ्क संकलन गरी सामाजिक सुरक्षा कोषमा उनीहरुलाई आबद्ध गराउनका लागि आवश्यक बजेट व्यवस्थापन गरी उनीहरुको सीप विकास, तालिमसहित सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नका लागि ध्यानाकर्षण गराउन चाहन्छौं ।
१०. मनहरी गाउँपालिकाभित्र बार्षिक २ हजार जनालाई स्थानीय सरकारले निःशुल्क स्वास्थ्य बीमा गराइरहेको कार्यलाई स्वागत गर्दै बीमा सेवा पाउनेहरुको छनौट बिधि पारदर्शी बनाएर गरिवीको रेखामुनि रहेकालाई प्राथमिकता बनाउने कुरामा ध्यानाकर्षण गराउन चाहन्छौँ ।
११. मनहरी गाउँपालिकामा हाम्रो पार्टीको नेतृत्वमा सरकार सञ्चालन हुँदा बार्षिक २७ करोडको हाराहारीमा गिटी, बालुवा, ग्रेवल लगायतबाट आन्तरिक राजश्व संकलन हुने गरेको सोही बलमा आफ्नै लगानीमा ५ वटा पक्की पुल बनाउने सामथ्र्य देखाएको थियो । र, हाल ५ वटै पुलहरु निर्माण सम्पन्न गर्न बर्तमान सरकारले देखाएको पहलकदमी र इमान्दारिताको स्वागत गर्दै आन्तरिक आय घट्दै गइरहेकोबारे आम जनताले प्रश्न गरिरहेका सन्दर्भमा जनतालाई चित्त बुझ्ने गरी जबाफ दिनका लागि ध्यानाकर्षण गराउन चाहन्छौँ ।
१२. लामो समयदेखि मनहरी गाउँपालिकामा भूमि उपभोग गरिरहेका तर लालपुर्जा पाउनबाट बन्चित भएका अब्यवस्थित बसोबासी, दलित सुकुम्बासी, भूमिहीन सुकुम्बासी लगायतलाई लालपुर्जा दिने कार्यका लागि हाम्रै पार्टीको नेतृत्वमा सरकार रहँदा अभिलेखिकरण लगायत सबै काम सकिएकामा हालसम्म पनि लालपुर्जाको बिषय यो सरकारले जोडदार रुपमा उठाउन नसक्दा आम जनसमुदाय आन्दोलित हुने परिस्थिति छ । आगामी आर्थिक बर्षमा यो समस्या समाधान हुने गरी बजेटको व्यवस्थापन गर्न र आवश्यक नेतृत्वदायी भूमिका निर्बाह गर्न ध्यानाकर्षण गराउन चाहन्छौँ ।
१३. मनहरी गाउँपालिकामा फोहर व्यवस्थापन परम्परागत रुपमा हुँदै आएको छ । ७ नं वडास्थित मनहरी खोलाको किनारमा डम्पिङ साइट बनाएर भइरहेको फोहर संकलन कार्यबाट ७ नं वडाको तल्लो बजार, ८ नं वडाको सिमपानी क्षेत्र प्रदुषितसँगै आगलागीको जोखिममा परिरहेको जनगुनासो छ । यसलाई समाधान गर्नका लागि ध्यानाकर्षण गराउन चाहन्छौँ ।
१४. वन्यजन्तुका कारण पर्सा राष्ट्रिय निकुन्ज र चितवन राष्ट्रिय निकुन्ज क्षेत्रको मध्यवर्ती क्षेत्रमा मानवीय क्षति हुने गरेका छन् । यसको न्यूनिकरण गर्न र तत्कालै क्षतिपूर्तिका लागि स्थानीय सरकारले कोष निर्माण गर्नका लागि ध्यानाकर्षण गराउन चाहन्छौँ ।
१५. अध्यक्ष कप र उपाध्यक्ष कपको नाउँमा बिगतदेखि नै भइरहेका प्रतियोगिताहरुको प्रभावकारिताको पुन समिक्षा गरी यसलाई अझ व्यवस्थित गर्नुपर्ने र राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितालाई समेट एकै पटक जोडेर पालिका स्तरीय खेलकुद महोत्सव सञ्चालन गर्नुपर्नेमा ध्यानाकर्षण गराउन चाहन्छौं ।
१६. विकास निर्माणका योजनाहरु निर्माण गर्दा पहुँच तथा समानतामा आधारित नभई समतामा आधारित हुनुपर्ने र योजनाहरुको कार्यान्वयन गर्दा उपभोक्तामुखी भन्दा पनि निर्माण व्यवसायीमुखी हुनेगरेको गुनासो आइरहेकामा त्यसलाई सच्याउनका लागि ध्यानाकर्षण गराउन चाहन्छौं ।
१७. गरिवीको रेखामुनि रहेका बिरामीहरुको उपचार गर्न जाँदा निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था होस् ।
१६. कृषि विकासका लागि किसानहरुलाई हरेक बर्ष माटोमा अम्लियपन लगायत समस्या पहिचान गर्न माटो परिक्षण गर्नुपर्ने, महामारीका रुपमा पशुमा फैलने सरुवा रोगहरुको नियन्त्रणका लागि निःशुल्क खोपसहित उपचार सेवा लगायतमा सुधार गर्नुपर्ने बिषयमा ध्यानाकर्षण गराउन चाहन्छौँ ।
१७. स्वच्छ खानेपानी आम मानिसका आधारभूत आवश्यकता भएकाले मनहरी गाउँपालिकाभित्र रहेका सबै खानेपानी स्रोतहरुको बेलाबेलामा जाँच गर्ने र उपचार गर्ने पद्धतिलाई अघि बढाउनुपर्नेमा ध्यानाकर्षण गराउन चाहन्छौँ ।
१८. बढ्दो युवा दुब्र्यसन र कुलतबाट फस्ने जोखिममा रहेका युवाहरुलाई सचेतनामुलक तालिम मात्र नभई उनीहरुलाई कुनै न कुनै उद्यम, सीप वा काममा जोडाइराख्ने प्रणालीको विकास गराउने खालका कार्यक्रमहरु सञ्चालनका लागि ध्यानाकर्षण गराउन चाहन्छौँ ।
१९. गाउँपालिकाले प्रबाह गर्ने सेवा, सुविधाका सम्बन्धमा जनमुखी हुनुपर्ने र त्यसरी प्रबाह हुने सेवा सुविधाका बखत कर्मचारीहरुको व्यवहार मैत्रीपूर्ण र झन्झटरहित हुनुपर्नेमा ध्यानाकर्षण गराउन चाहन्छौँ ।
२०. हाम्रो पार्टीको नेतृत्वमा सरकार हुँदाबखत देशकै ४६० वटा गाउँपालिकामध्ये पहिलोपटक मनहरी गाउँपालिकामा बालमैत्री स्थानीय शासन अवलम्बन घोषित भएकामा त्यसको निरन्तर फलो अप नहुँदा आज पनि मनहरी गाउँपालिकाको इज्जतमा नै धब्बा लागिरहेको अबस्था छ । त्यसैले यस क्षेत्रमा थप बजेट, जनशक्तिसहित व्यवस्थापन हुनुपर्नेमा ध्यानाकर्षण गराउन चाहन्छौं ।
२१. लोकतन्त्रप्राप्तिपछि भौतिक, सामाजिक, आर्थिक क्षेत्रमा देशभर सकारात्मक उपलब्धीहरु हासिल भएका छन् । लोकतन्त्रकै कारण आज आम जनता स्वतन्त्र र उन्मुक्त छ । तर, लोकतन्त्र र गणतन्त्रले केही पनि गरेन भन्ने भाष्य निर्माण गरी संविधान, गणतन्त्र र लोकतन्त्रमाथि धावा बोल्ने कार्य भइरहेको सन्दर्भमा लोकतन्त्र प्रवलीकरणका लागि मनहरी गाउँपालिकाभित्रका ३० बर्ष मुनिका युवाहरुलाई बिशेष कार्यक्रम सञ्चालन गर्नका लागि हामी ध्यानाकर्षण गराउन चाहन्छौँ ।



