Saturday, July 12, 2025

कक्षा ७ मा पढ्दै विवाह बन्धनमा बाधिएकी जानुका न्यौपानेको संघर्ष र सफलता

ताजा / भरखरै प्राप्त

कक्षा ७ मा पढ्दै विवाह बन्धनमा बाधिएकी मकवानपुरगढी गाउँपालिका वडा नं. २ कुर्ले निवासी जानुका न्यौपानेले सानै उमेरमा घर सम्हाल्नु पर्यो ।

खानाका लागि खेतमा उब्जाएको अन्नबालीले पुग्थ्यो भने पनि नुनतेल, लुगाफाटो, बिरामी पर्दा औषधोपचारका लागि खर्चको जोहो गर्न सहज थिएन । श्रीमान् बेरोजगार थिए । परिवारका साना आवश्यकताहरू पूरा गर्न जानुका विभिन्न उपायहरू खोजिन् । कमाईको स्रोत नभएपछि कृषि कर्म बाहेक अरु विकल्प देखिनन् ।

घर नजिकै दूध खरिद गर्ने सहकारी संस्था थियो। घरेलु समस्याहरू समाधान गर्न गाईपालन गर्ने योजना बनाईन् । पुख्राले नै गर्दै आएको पेशा गर्ने भनेपछि परिवारको साथ पाइन् । वृद्धवृद्धासहितको परिवारको लागि उनका एउटा गाईको दूध खानु, या बेच्नु भन्ने प्रश्न उठ्यो। थोरै भए पनि आम्दानी लिन सकिन्छ कि भनेर, सरसापट गरेर अर्को एउटा गाई थपिन् ।

दुई वटा गाईको दूध बिक्रीबाट आएको पैसा ढुटो चोकरमै खर्च हुन्थ्यो । उनलाई अर्को गाई थप्न पैसा थिएन । त्यही बेला बचतमा ब्याज पनि आउने, ऋण पनि पाइने भन्ने कुरा थाहा पाउँदा सहकारीमा बचत गर्ने लहर सुरु भयो ।
मेलापात गरेर भए पनि कुर्ले कृषि सहकारीमा बचत गर्न थालिन्। परिवारका तीन सदस्यको बचत मासिक ६ सय रुपैयाँ हुन्थ्यो। केही महिनापछि कृषि समूह पनि खुल्यो । त्यहाँ पनि उनीसहित तीन सदस्यले २÷२ सय दरले जम्मा गर्न थालिन् ।

सहकारीले कृषिबाट कसरी आम्दानी लिन सकिन्छ भन्ने विषयमा जानकारीमूलक कार्यक्रम र तालिम दिन थाल्यो । त्यसमा जानुका सहभागी भइन् । कृषिमा प्रविधिको प्रयोग र आधुनिकता बारे ज्ञान प्राप्त गरिन्। उनले सहकारी र कृषि समूहमा कहिल्यै बचत रोकेनन् । यता सहकारीमा बचत रकम बढ्दै थियो भने उता कृषि समूहको पूंजी ऋण लगानी गर्न सक्षम भइ सकेको थियो । उनले कृषि समूहमा ऋण प्रस्ताव राखिन् ।

गाईपालन गर्ने उनको उद्देश्यलाई कृषि समूहले ६० हजार ऋण दियो । त्यस रकमबाट ३ वटा दुना उन्नत जातको गाई खरिद गरिन् ।
जानुकाको आट र मेहनतमा उनका श्रीमान् हरिले साथ दिए । उनीहरूले ५ वटा गाईबाट औसतमा दैनिक १५÷२० लिटर दूध उत्पादन गरे। नजिकैको श्रमिक दुग्ध उत्पादक सहकारीमा दूध बिक्री गर्थे । लकडाउन हुनु अघि दूध नियमित बिक्री हुन्थ्यो, तर कोरोनाको कारण बन्दाबन्दी सुरु भएपछि दूध संकलन हुन छाड्यो ।

दूध बिक्री हुन बन्द भयो । एकैदिन २५÷३० लिटर दूध फाल्नु पर्ने अवस्था सिर्जना भयो । केही समयपछि दूध बिक्री सुरु भयो, तर भुक्तानी महिनौँसम्म रोकियो । गाईको संख्या घटाएर जानुका विकल्प खोज्न लागिन् ।

त्यतिबेला तरकारी बजार राम्रो थियो । नजिकैका छिमेकीले तरकारी खेतीबाट राम्रो आम्दानी लिएको देखिन् । उनले माटो सँग मितेरी गाँस्ने निधो गरिन् । उनीसँग खेतीको जमिन थियो, लगानी थिएन । लगानीको खोजीमा थिइन् । त्यही बेला कुर्ले कृषि सहकारीले आफ्नो कृषिक शेयर सदस्यका लागि ५० प्रतिशत टनेल अनुदान कार्यक्रम ल्याएको थियो । सहकारीले जानुकाको इच्छाशक्तिलाई मूल्याङ्कन गर्दै कृषि परामर्श सहित उक्त कार्यक्रम पारिदियो। २ लाख ५० हजार अनुदान प्राप्त भयो ।

त्यसमा जानुकाले २ लाख ५० हजार खर्च गरेर दुई वटा फलामे टनेल बनाउनु पथ्र्यो। तर उनले त्यति आर्थिक स्रोत जुटाउन सक्ने अवस्था थिएन । उनले चन्द्रसुर्य सहकारीमा माग राखिन् । सहकारीले २ लाख ऋण दियो। त्यसमा थपथाप गरेर २ वटा फलामे टनेल बनाइन् ।

दुःखको पहाडमा सुख फलाउन रुखोसुखो माटोमा पसिनाले सिचाइ गरे । त्यहाँ काक्रो, बोडी र गोलभेडा लगाए । तिनीहरूको दुःख र मेहनतले पहिलो वर्ष राम्रो उत्पादन दियो। करिब १ लाख बराबर आम्दानी गरिन् । केही रकम जोगाउन सफल भइन्। त्यही कमाईबाट भूकम्पबाट क्षति भएको घर बनाउँदा लागेको २ लाख ऋण तिर्न सहयोग पुग्यो र हौसला मिल्यो ।

त्यतिबेला गोलभेडाले बजार मूल्य राम्रो पाएको थियाें । दुई वटा टनेलबाट १ लाख आम्दानी हुने भनेको सोच बनाए । आठ वटाबाट ५ लाखसम्म कमाउन सकिन्छ भन्ने सोचमा आधारित उनका योजनालाई दिव्यतारा बहुउद्दश्यीय सहकारीले ३ लाख ऋण लगानी गर्यो ।

त्यो पैसामा थपथाप गरेर २ वटा बाँसका र ४ वटा फलामे टनेल बनाए । ५ कठ्ठा क्षेत्रफलमा ८ वटा टनेलमा गोलभेडा लगाए । सहरसँगै मेहनत पनि गरेका थिए, तर भाग्यसँग नभएर फल दिने समयमा गोलभेडाका बोट सुक्न थाल्यो । फूलबाट दानाको आकार लिँदै ८ वटा टनेलमा लगाएको टमाटरको बोट एकपटक पनि फल्दैन भनेको अवस्था आयो ।

एक वर्ष मात्र होइन, लगातार दोस्रो वर्ष पनि गोलभेडाका बोट मरिसकेपछि उनले कुनै पनि गोलभेडा बेच्न सकेनन् । दुई वर्षको दिनरात नभनी गरेको परिश्रम र लगानी क्षणभरमै स्वाहा भयो ।

हुर्काएको बिरुवा फल दिने समयमा मर्नु भनेको भोको पेटको गाँस मुखबाट खोसिएको जस्तो थियो । यो घडीमा कस्को मन पोल्दैन ? उनले आफूसँग पैसा भएर लगानी गरेकी थिइनन् । जग्गा धितो राखेर ऋण लिएकी थिइन् । अब ऋण कसरी तिर्ने भन्ने चिन्ताले धेरै रात अनिदो बिताइन् । असफलताभित्र सफलताको परिक्षा हुँदैछ, मेरो मैले संघर्ष गर्न छाड्नु हुँदैन भन्ने मनमा लिएर उनले कृषि पेशाबाट हार मानेनन् । कुटोकेदालो लिएर फेरी टनेलमा पसिन् ।

उनको चालु आर्थिक वर्षमा ६ मध्ये दुई वटा टनेलमा गोलभेडा छन् भने ४ वटा टनेलमा काक्रा खेती छ । अहिले उनका टनेलका बोटभरी लटरम्म गोलभेडा फलेका छन् । तर उचित मूल्य नहुँदा उनको लगानी उठ्ने अवस्था छैन । ‘एक हप्तामा दुई पटक गोलभेडा टिपिन्छ, एकपटकमा १७ क्रेटसम्म टिप्न सकिन्छ,’ उनले भनिन्, ‘टमाटरले उचित मूल्य पाएन, ढुवानी महँगो छ, लगानी जोगाउनै गाह्रो छ ।’

उनले गोलभेडाबाट आम्दानी नभए पनि काक्राबाट आम्दानी हुने आशा राख्दै छिन् । काक्राको लहरामा चिचिला लागि सकेको छ । अब १–२ हप्ताभित्रै उत्पादन सुरु हुने उनले बताइन् । ‘अहिले काक्राको बजार मूल्य ४० रुपैयाँ छ, घटेन भने चाहिँ आम्दानी हुन्छ,’ उनले भनिनन् ।

संघर्ष गर्नुपर्छ, सफलता समयको खेल हो । गतिविधिले मानिसलाई जीवित बनाउँछ र कर्म गर्न छाड्नु हुँदैन । सफलता एक दिन पक्कै मिल्छ भन्ने आत्मविश्वास उनले पाएको छ । यो आत्मविश्वास पाउनमा सहकारीको ठूलो भूमिका रहेको उनी बताउँछिन् ।

जानुकालाई सहकारीको किस्ता र ब्याज तिर्न धौधौ परेको अवस्था छ । तर सहकारीले उनीमाथि विश्वास भने तोडेको छैन । उनलाई ट्याक्टर आवश्यक परेको छ। त्यही कुरालाई मध्यनजर गर्दै साना किसान सहकारीले उनलाई १ लाख रुपैयाँ ऋण दिने भएको छ ।

आफूलाई सहकारीले गरेको विश्वासलाई मर्न नदिने अठोट लिएका छन् । त्यही ट्याक्टरले सफलताको ढोका खोल्ने र सफलता हात पार्ने प्रतीक्षामा जानुका छन् । नेपाली किसानले उत्पादित तरकारीलाई सरकारले बजार व्यवस्थापन गर्न नसकेकोमा उनी असन्तुष्ट छिन् ।

‘भारतीय तरकारीको कारण नेपालमा उत्पादन भएका तरकारीको मूल्य पाएको छैन, त्यहीमाथि बिचौलिया बिगबिगी छन्,’ उनी भन्छिन्, ‘बेचेको तरकारीको तौल र बिल सही आउँछ, पैसा सही आउँदैन ।’ अब सहकारीले बचतकर्तालाई व्यवसाय गर्न ऋण दिने मात्र होइन, किसानले उत्पादन गरेको वस्तुको बजार व्यवस्थापन कार्ययोजना बनाएर कार्यान्वयनमा ल्याउनु पर्ने उनको माग छ ।

जानुका न्यौपानेको जीवन संघर्ष र समर्पण प्रेरणादायी छ । सानै उमेरमा विवाह बन्धनमा बाधिएकी उनले परिवारको पालनपोषणका लागि कृषि पेशालाई अपनाइन् । सहकारी संस्थासँगको सहकार्य र ऋण सुविधाको माध्यमबाट उनले गाईपालन र तरकारी खेतीमा सफलता हासिल गर्न संघर्षतर छिन् ।

गठिन परिस्थितीका बाबजुद पनि उनले हार नमान्दै तरकारी खेतीमा हात हालेकी छन् । संघर्ष र साहसले देखाउँछ कि कठिन परिस्थितिमा पनि आत्मविश्वास र मेहनतले सफलताको आशा जिवित राख्न सकिन्छ भन्ने अन्य किसान महिलाका लागि प्रेरणाको स्रोत हुन् उनी ।

लोकप्रिय

Related Articles