Saturday, July 12, 2025

सहकारीको ऋणलाई सम्पत्ति बनाउन खत्रीको संघर्ष

ताजा / भरखरै प्राप्त

हेटौँडा–जेठ १५ गते । सहकारीमा पहिला बचत, त्यसपछि ऋण; त्यही ऋणले मकवानपुरगढी गाउँपालिका वडा नं. ३ मक्रानडाँडा निवासी ४९ वर्षीय राजेश खत्री परिवारको आयो उज्यालो दिन भन्दा फरक पर्ला । पैसा जस्तो आउँछ, उस्तै जान्छ । छोरोको बिहे गरे घर गरी खान्छ भनेर बाबुले खत्रीलाई २३ वर्षको उमेरमा विवाह गरिदिए ।

विवाह भएको पाँच वर्षपछि बुवाआमासँग छुट्टिएर बस्नु पर्यो । आरो करौती रेट्न जान्थे । बिहान रेट्यो, दिउँस एकछाक, दिउँसो रेट्यो, बेलुका एकछाक करौतीको आवाज जस्तै हुन्थ्यो उनको कमाई ।

तर उनले बचत गर्न भने महिना रु २०० जोगाउँथे । मकवानपुरगढी गाउँपालिका वडा नं. ३ मक्रानचुलीमा रहेको साना किसान र हिमाल महिला बचत तथा ऋण सहकारी संस्थामा उनको श्रीमती पार्वतीले रु एक/एक सय बचत गर्थिन् ।

राजेशले कमाएर दिएको रकमबाट घरखर्च जोगाएर पार्वती प्रत्येक महिना नियमित बचत गर्न थालिन् । कुनै महिना बचत टुटाइनन् । हाडमासुको ज्यान सधैँ एकैनास कहाँ हुन्छ र, युवा उमेर जस्तो काठमा आरो करौती तलमाथि गर्न सक्ने अवस्था रहेन राजेशको ।

उनले घरगोठमा घाँसदाउँरा, खेतबारीमा कुटोकोदालो गर्ने अठोट लिए । त्यो कामले मौत्र घरपरिवार धन्ने अवस्था थियो । गाईबाख्रा पाल्ने सोच बनाए । सोचलाई नोटमा बदल्न सहकारीमा बचत गरेको पैसाले सम्भव थियो ।

उनीहरूको बचत लगाब र सोचलाई साना किसान सहकारीले पत्यो । ३० हजार रकम ऋण उपलब्ध भयो । त्यो रकमबाट उन्नत जातको एक गाई र दुई वटा माउ बाख्रा किन्दा राम्रो पालन पोषण गरे । गाईले दूध अनि माउ बाख्राले खशीबोका दियो। दूध मनकामना दुग्ध उत्पादक सहकारी संस्थामा बिक्री गरे ।

खशीबोका उचित मूल्य दिन घरमै आउँथे। दूध र खशीबोकाले दिएको आम्दानीबाट ऋण तिर्न गाह्रो भएन । तोकिएको समयमा साँवा र व्याज बुझाए । उनले फेरि साना किसानबाटै ६० हजार कर्जा लिए । दुधालु गाई र उन्नत जातको बाख्रा थपे । पालन पोषणमा कुनै कञ्जुस्यी गरेनन् । गाईबाख्राले राम्रो मुनाफा दियो । ऋण चुक्ता गर्न समय लागेन ।

मनकामना सहकारीले आफ्नो शेयर सदस्यलाई व्यवसायिक पशुपालन फार्म अवलोकन गराएको थियो । त्यहाँ राजेश पनि गएका थिए । अवलोकन भ्रमणले उनलाई थप प्रोत्साहन दियो । उनले तेस्रो पटकमा ३ लाख कर्जा लिएर गोठ सुधार गरे। विसं. २०७१ मा उनले गाई तीनबाट चार थप गरेर ७ वटा पुर्याए ।

उनले औसतमा दैनिक ३५ लिटर दूध बिक्री गर्थे । उनको वार्षिक दूधको कारोबार अनुमानित ६ लाख नाघ्थ्यो । उनी गाउँकै सबैभन्दा धेरै दूध बिक्री गर्ने किसान थिए । उनलाई दुग्ध खरिद गर्ने सहकारीले प्रोत्साहन दियो । यो क्रम करिब ६ वर्ष एउटै गतिमा रह्यो ।

व्यवसाय सधैँ एकैलयमा कहाँ हुन्छ र ? कोरोना कहरले दूधको बजारलाई प्रभावित बनाएको थियो । समयमा भुक्तानी हुन छाड्यो । महिनौं दूधको पैसा नपाउदा ऋणको कित्ता तिर्न धौधौँ हुन्थ्यो । तर हार भने खाएनन् । कुनै बेला साँवा व्याज तिर्ने पैसा हुँदैन थियो । उनी अनुहार देखाउन भने पनि सहकारी पुग्थे ।

समय, परिस्थिति र आफ्नो धरातल के छ, त्यो अनुसार चल्नुपर्छ उनलाई थाहा थियो । गाईको संख्या कटाए । ऋणको बोझ कम गरे । कठिन परिस्थितिमा पनि उनी जिम्मेवारीबाट भागेनन् ।

उनीहरूसँग सहकारीको विश्वाससँगै कारोबार पनि बढ्दै थियो । आवश्यक ऋण दिन सहकारी पनि तयार थियो । पाखोबारीमा घाँस मात्रै हुने अन्न नहुँने ।

धानमकैले मान्छे र ढोडपरालले गाईबस्तु पालिने । चौथो पटक साना किसान सहकारीबाटै ५ लाख ऋण लिएर सिचाइ हुने खेती योग्य ५ कठ्ठा जमिन किने । उनी भन्छन्, “खेत किनेपछि चामल किन्न पसल जानु परेको छैन ।”

खत्री दम्पतीको दुई जवान छोरा छन् । उनीहरू लेखपढपछि बाबुआमालाई काम सघाउँथे । हुर्केको छोराको घरजम गर्न कस्लाई रहर हुँदैन होला । रहर थियो, पैसा थिएन । गाउँघरमा एउटा चल्तीको भनाइ छ, “भगवानले भन्छ रे, तँ आट म पुर्याउँछु ।“ राजेश भन्छन्, “मैले छोराको बिहे आँटे । त्यो आँट पुरा गर्न सहकारी नै भगवान सावित भईदियो ।” ऋणलाई धन बनाएर साँवा÷व्याज चुक्त्याउन जानेका खत्री दम्पतीलाई साना किसानले ३ लाख ऋण धम्याईदियो ।

उनीहरूले बिहेमा लिएको ऋण पनि चुक्ता गरिसके। एउटै कुरा सबैलाई मनपर्छ भन्ने पनि हुँदैन। खत्री दम्पतीको दुई काम सघाउँथे। आफैं जिम्मेवारी लिएर अगाडि रुचि देखाएनन् । दुई छोराको रुचि अनुसार बैदेशिक रोजगारी जाने इच्छा देखाए। उनीहरूलाई लगानी गर्ने राजेशसँग पूँजी थिएन । जग्गा खरिद र बिहेमा लागेको ऋण चुक्ता खर्च भईसकेको थियो । सहकारीकै ऋण लगानी उनीमा जेठो छोरा मनिस खत्री कतार पुगेका छन् भने कान्छा छोरा महेन्द्र खत्री जापानमा छन् । “मान्छेलाई ऋण लागोस्, दिन नलागोस् भन्छन्,” खत्री दम्पती भन्छन्, “सहकारीको ऋण करिब ६ लाख छ ।”

उनीसँग ऋण मात्रै होइन्। स्मरण रहोस्, ऋणबाटै धनमा परिणत गरेको सम्पत्ति छ । संघर्षको मैदानमा खुशीको आँसु खोज्नेहरूका लागि खत्री दम्पती प्रेरणाका पात्र सावित छन् । सहकारीसँग कारोबार हुनुभन्दा पहिले ८–१० कठ्ठा पाखोबारी र घर मात्रै थियो । वर्षभरी खान पुग्ने खेतीयोग्य ५ कठ्ठा जमिन छ । ३ वटा दुना र ४ वटा बार लाग्न तयार भएका बच्छी छन् भने ८–१० वटा उन्नत बाख्रा छन् । यो वर्ष दूधको कारोबार वार्षिक २ लाख नाघ्छ। खशी २ वटा बिक्री गरिसकेका छन् भने ४ बिक्रीका लागि तयार छन् ।

राजेश भौतिक उपलब्धीलाई मात्रै सफलता मान्दैनन् । “सन्तुष्टि अनुभूत हुने कुरा हो, मैले गर्ने कर्ममा मैले सन्तुष्टि अनुभूत गर्छु,” उनले भने । उनी यसैलाई सफलताको रूपमा लिन्छन्। उनी आफ्नो कर्मलाई आर्थिक तथा प्राविधिक रूपमा सहयोग पुर्याउने सहकारी संस्थाप्रति आभारी छन् । “मान्छे लिएको सुन विर्सियो भने हराउन सक्छ, गुन विर्सियो भने सम्बन्ध,” उनले भने, “त्यसैले लिएको सुन र गुनको हेक्का राख्नुपर्छ ।” “सहकारीमा ऋण लिएपछि समयमै तिर्नुपर्छ भन्ने हेक्का भयो भने काम गर्ने ऊर्जा मिल्छ । समयले नै लात हान्छ भने त्यो अपवाद हो,” उनले थपे ।

नेपालको परिपेक्ष्यमा किसानहरूले सहजै लाभ लिन सक्ने अवस्था नरहेको उनी बताउँछन् । “उत्पादनले बजार पाउँदैन, बजार पाएपनि ३–४ महिना भुक्तानी रोकिएको अवस्था छ, ऋणको कित्ता र व्याज महिना–महिना तिर्न सकेन भने हर्जना,” उनी आक्रोश पोख्दै भन्छन्, “हाम्रो उत्पादनले मूल्य नपाएको कस्ले हर्जाना दिन्छ ? अनि समयमै भुक्तानीको कस्ले ?” सरकारले सहकारीसँग समन्वय गरी किसान र कृषि जोगाउन नीति बनाएर लागू गर्न उनले सुझाव दिएका छन् । खेती योग्य जमिन जति वित्तीय संस्थाको नाम हुने अवस्था रहेको उनको भनाइ छ ।
निष्कर्ष
राजेश खत्रीको कथाले देखाउँछ कि संघर्ष र सही मार्गदर्शनले जीवनमा परिवर्तन ल्याउन सक्छ । सहकारीसँगको समन्वय, नियमित बचत र कर्जा व्यवस्थापनले उनलाई समृद्धि र आत्मनिर्भरता प्राप्त गर्न मद्दत गर्छ । यो प्रत्येक किसान र उद्यमीलाई प्रेरित गर्ने उदाहरण हो कि सही सोच र कडा परिश्रमले भविष्यलाई उज्जवल बनाउन सक्छ ।

लोकप्रिय

Related Articles