मनहरी–जेठ २१ गते । मनहरी गाउँपालिकाभरि रहेका माध्यमिक तहका विद्यार्थीबीच गरिएको बक्तृत्व कला प्रतियोगितामा राष्ट्रिय मावि सुनाचुरी, महेन्द्रकिरण मावि सिमपानी र युनिभर्सल लर्निङ एकेडेमीका विद्यार्थीहरुले श्रेष्ठता हासिल गरेका छन् ।
जातीय भेदभाव र छुवाछुत उन्मुलन दिवसका अबसरमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले राष्ट्रिय रोटरी माविमा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा मनहरी ६ स्थित राष्ट्रिय माध्यमिक विद्यालयकी छात्रा सुष्मा प्रजा प्रथम हुनु भएको छ । १५० पूर्णाङ्कमा उनले १२३ अंक प्राप्त गरेकी थिइन् ।
त्यसैगरी मनहरी ८ स्थित महेन्द्रकिरण माध्यमिक विद्यालयकी यज्ञकुमारी सुनार द्वित्तीय र मनहरी ७ स्थित युनिभर्सल लर्निङ एकेडेमीकी रन्जिता मोक्तानले तृत्तीय हासिल गर्नु भएको छ । त्यसैगरी दोस्रो स्थान हासिल गर्ने सुनारले ११८.५ र तृत्तीय स्थान हासिल गर्ने मोक्तानले ११७.५ अंक प्राप्त गरेकी थिइन् ।
प्रतियोगितामा प्रथम, द्वित्तीय र तृत्तीय हुनेले क्रमशः नगद ३ हजार रुपियाँसहित मेडल र प्रमाणपत्र, द्वित्तीय हुनेले नगद २ हजारसहित मेडल र प्रमाणपत्र तथा तृत्तीय हुनेले नगद १ हजारसहित मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।
कार्यक्रममा नेकपा माओवादी केन्दका नेता बीरबहादुर घलान, मनहरी इन्चार्ज रामहरी सुवेदी, उपाध्यक्ष हरिप्रसाद कालाखेती, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य राजेन्द्रकुमार मुक्तान, जिल्ला अध्यक्ष बुद्धराज अर्याल, जिल्ला उपाध्यक्ष दिपक वाइबा, सचिव छोइसाङ लामा, कोषाध्यक्ष अनिल बसेल, विद्यार्थी नेता मिनेष पुडौनी लगायतको सहभागिता हुनुहुन्थ्यो ।
कार्यक्रम अखिल क्रान्तिकारी मनहरी गाउँ कमिटी अध्यक्ष प्रकाश मिजारको अध्यक्षता भएको हो । जातीय भेदभाव र छुवाछुत उन्मुलनका सन्दर्भमा विद्यार्थीहरुका बुझाइ र क्षमता समेत प्रदर्शन होस् भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको अखिल क्रान्तिकारी केन्द्रीय सदस्य मुक्तानले बताउनुभयो । कार्यक्रममा १४ वटा विद्यालयका गरी १४ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।