बागमती प्रदेश सरकार अन्तर्गतको प्रदेश युवा परिषद बागमतीले आगामी बैशाख २८ गतेदेखि ३० गतेसम्म बागमती प्रदेश युवा सम्मेलन २०८२ प्रदेश राजधानी हेटौँडामा आयोजना गर्दैछ । सम्मेलनमा तीनसय ५० जना युवा सहभागी हुने तयारी छ । यसै सन्दर्भमा रहेर प्रदेश युवा परिषद बागमतीका उपाध्यक्ष सन्तोष चौलागाईसंग मनहरीलाइभ डटकमले गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत छ ।
प्रदेश युवा परिषद बागमतीले युवा सम्मेलनको अबधारणा कसरी अघि बढायो ?
युवाहरु अध्ययन, रोजगारी र सीपका लागि संसारभर अवसरको खोजीमा लाग्न थालेका छन् । देशविदेशमा अवसरको खोजी गर्दै हिँडिरहेका युवाहरुका सबाललाई सरकारसँगको अन्तरसंवादमा जोडाएर आवश्यकतामा आधारित सीप, रोजगारी र अध्ययनको व्यवस्था गराउनु आजको आवश्यकता हो । यही कुुरालाई मध्यनजर गरी हामीले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारलाई ती युवाहरुका भावना सुन्ने वातावरण र मञ्च बनाइनुपर्छ भन्ने कुरा सोच्यौं । युवाहरुलाई सीप सिकाई दक्ष जनशक्तिका रुपमा स्थापित गर्ने हाम्रो यो प्रयत्नलाई तीनै तहका सरकारसामु पुु¥याउने ध्येयका साथ प्रदेश युवा सम्मेलनको अवधारणा अघि बढाइएको हो ।
प्रदेश युवा सम्मेलन तेस्रो श्रृङ्खलासम्म आइपुग्दा युवा र प्रदेश सरकारमा यसको प्रभाव कस्तो परेको पाउनु भएको छ ?
युवा सम्मेलनको प्रभावकारिता हामीले सोचेभन्दा राम्रो पाएका छौँ । खासगरी राजनीतिमा चासो नभएका युवाहरुलाई समेत नीति निर्माण र विकास प्रक्रियासँगै रोजगारी, उद्यमशीलतामा हामीले जोडाएका छौं । यसको उदाहरण स्वरुप यसपटक आयोजना हुने युवा सम्मेलनमा ११९ वटा स्थानीय तहबाट उद्यम गरिरहेका ११९ जना युवाहरु नै अनिबार्य रुपमा पालिकाको सिफारिसमा यो सम्मेलनमा सहभागी हुँदैछन् । सम्मेलनमा उनीहरुले आफ्ना सफलताका कुरा, चुनौति र समस्याहरु राख्नेछन् । अर्काे कुरा, युुवाका कुरा सबै राजनीतिक नेतृत्वले बोल्ने तर कस्तो योजना बनाउनुपर्ने, नीतिनियम कस्तो बनाउँदा युवाामैत्री हुने भन्ने कुरामा अन्यौलता थियो । त्यो अन्यौलता चिर्नका लागि पनि यो युवा सम्मेलन प्रभावकारी बन्यो । जस्तो कि, यही सम्मेलनकै प्रभावका रुपमा हामीले २०८१ साललाई युवा सीप बर्ष घोषणा गर्नका लागि बागमती प्रदेश सरकारलाई सहमत गरायौं । नीति कार्यक्रममा नै त्यो कुरा समावेश भयो । अहिले तपाई हेर्नुहुन्छ भने हामीहरुकै पहलमा बागमती प्रदेश सरकारको लगानीमा अहिले १०,५०० भन्दा बढी युवाहरूलाई सीपमूलक तालिम प्रदान गरी दक्ष जनशक्तिका रुपमा स्थापित गरेको तथ्यांक हामीसंग छ । त्यसैले हामी दाबाका साथ भन्न चाहन्छौं कि, युवा सम्मेलनले समग्र युवा क्षेको नीति निर्माण, सीप र उद्यमशीलताको विकासमा महत्वपूर्ण प्रभाव पारेको छ । त्यो सँगै बागमती प्रदेशमा युवाहरुको उत्सवको रुपमा पनि यो सम्मेलने पहिचान कायम गरेको छ ।
प्रदेश युवा परिषद बागमती प्रदेश सरकारको एउटा अंग हो । यसले कसरी संघीय र स्थानीय सरकारसँग समन्वय गर्न सकेको छ ?
हामी बागमती प्रदेश सरकारको अंग हौँ । प्रदेश युवा परिषद ऐन २०७६ बमोजिम हामी क्रियाशील छौँ । हामीले हाम्रो प्रदेशमा रहेका ११९ वटा स्थानीय तहसँग एकदमै सुमधुर सम्बन्ध स्थापित गरी काम गरिसकेको अनुुभव छ । अहिले पनि हामीले ११९ वटै पालिकाबाट महिला युवा प्रतिनिधित्वको ग्यारेन्टी गर्न महिला युवा उद्यमीलाई पठाउनका लागि पत्राचार गरेका छौं । हामीले संघीय सरकारको कार्यक्रमहरु समेत कार्यान्वयनको क्षेत्रमा सहजीकरण गरिसकेका छौँ । प्रदेश युवा परिषदले यसरी तिनैवटा सरकारसँग आपसी समन्वय र सहकार्य गरेर अघि बढेको छ । यही सम्मेलनमा पनि हामीले प्रधानमन्त्री ज्यूलाई सहभागी गराएर अझ अभिभावकत्वको ग्यारेन्टी गराउने प्रयासमा छौं । युवा सम्मेलनको प्रत्येक सत्रमा मुख्यमन्त्री, युवा तथा खेलकूद मन्त्री, स्थानीय सरकार प्रमुखहरू र अन्य उच्च पदस्थ व्यक्तिहरूको सहभागिता गराउने कुरालाई नियमित गरेका छौं ।
अघिल्ला दुुई सम्मेलन र अहिले हुन लागेको तेस्रो सम्मेलनका बीच तात्विक अन्तर के छ ?
अघिल्ला युवा सम्मेलनहरु हामीहरुका लागि अनुुभव हासिल गर्न निकै सहयोगीसिद्ध भयो । यसको प्रभावकारिता देखेर नै बागमती प्रदेश सरकारले युवा सम्मेलनको निरन्तरताका लागि बजेट बिनियोजन र नीति तथा कार्यक्रममा समेत समेटेको छ । यो तेस्रो सम्मेलन चाहिँ अझ महत्वपूूर्ण छ । किन भने हामीले यसपटक बागमती प्रदेशका ११९ वटै पालिकाबाट सिफारिस भएका ११९ जना युवा महिला उद्यमीहरु सम्मेलनमा सहभागी हुनेछन् । यो महत्वपूर्ण बिषय हो । त्यसका अलावा हामीले बागमती प्रदेश बाहेकका अन्य ६ वटा प्रदेशबाट समेत १० जनाका दरले युवाहरु सहभागी हुनेछन् । यसको अर्थ हामीले हाम्रो कार्यक्रम र भिजनलाई देशब्यापी बनाउन सफल भयौँ । हाम्रा कार्यक्रम र गतिविधिहरु अरु प्रदेशहरुले पनि सिर्जनात्मक रुपमा सिकून भन्ने हाम्रो आशय हो ।
सीप सिक्न र उद्यमशील बन्न चाहने युवालाई यो सम्मेलनले के के कुरा दिन सक्छ ?
यो सम्मेलनले व्यावसायिक सीप, अनलाइन उद्यमशीलता, सहकारी व्यवस्थापन, कृषि उद्यम लगायतका विषयमा प्रशिक्षण र कार्यशाला सत्रहरु राखिएको छ । सम्मेलनमा सहभागी युवाहरुले व्यवसायिक सोचलाई परिष्कृत गर्न सक्ने र सरकारी उद्यम सहयोग कार्यक्रम (जस्तै युवा स्वरोजगार कार्यक्रम) मा पहुँच बनाउने उपायहरूबारे जानकारी पाउँछन् । त्यसैगरी उनीहरुले उत्पादन गरेका बस्तु, सीप, क्षमताको प्रवद्र्धन गर्ने कार्य पनि हुनेछ । युवालाई सरकारसँग जोड्ने, उनीहरूको आवाज नीति निर्माणमा पु¥याउने र अवसर सिर्जना गर्ने सन्दर्भमा प्रदेश युवा सम्मेलन अब बागमती प्रदेशकै दिगो युवा केन्द्रित कार्यक्रम बन्न थालेको छ ।
युवा परिषदले युवालाई के कसरी उद्यमशील बनाइरहेको छ ?
प्रदेश युवा परिषद बागमतीले युवाहरुलाई पहिलो चरणमा आधारभुत तालिम प्रदान गर्ने, दोस्रो चरणमा बिशिष्टकृत तालिम दिने, र सीप सिकेका युवाहरुको सीप परिक्षण गरी उनीहरुलाई व्यवसायिक सीप विकास तथा तालिम केन्द्र (सिटीइभिटी) को प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरुलाई उद्यमशील बनाउन आबश्यक सामाग्री दिएर उत्प्रेरणा दिने काम भईरहेको छ । सीप सिकेका धेरै युवाहरु आफैले ब्यवसाय सञ्चालन गरिरहेका छन् । मैले माथि भनिसकेँ १०५०० जना युवाहरु अहिले बागमती प्रदेशमा उद्यमशील बनेर काम गरिरहेकै छन् ।
बागमती प्रदेशका युवा कस्तो हुनुपर्छ भन्ने सोचाइ प्रदेश युुवा परिषदको रहेको छ ?
प्रदेशका प्रत्येक युवा सीपयुक्त हुनुपर्दछ । युवाको सशक्तीकरण सीप र क्षमता विकासबाट मात्रै हुनेछ भन्नेमा परिषद विश्वास राख्दछ । युवाहरु जाग्दा मात्रै राजनीतिक, सामाजिक र आर्थिक क्रान्ति हुन्छ । सीप सिकेका युवा विदेशमै गएपनि उनीहरुले सहज र सुरक्षित रोजगारी प्राप्त गर्दछन् । सीप भएपछि विदेश जानुुपर्ने बाध्यता पनि हुन्न । त्यसैले हामी प्रदेशभरका हरेक युवा सीपयुक्त, सचेत, स्वरोजगार, सिर्जनशील, उद्यमी भएको देख्न चाहन्छौं । यस्तै युवा स्थापित गर्नका लागि प्रदेश युवा परिषद क्रियाशील छ । हाम्रो सोचाइ नै यही हो । हाम्रो सपना नै यही हो ।