मनहरी–फागुन २४ गते । मनहरी खेलकुद विकास समितिले फागुन २१ गतेबाट सुरु गरेको मनहरी खेलकुद तथा ब्यापार महोत्सव २०८१ अन्तर्गत शनिबार दर्शक र अवलोकनकर्ताको भीड निकै बढेको पाइएको छ ।
शनिबार महोत्सवस्थल नै ढाक्ने गरी दर्शक र अवलोकनकर्ताहरु आएको आयोजकले जनाएको छ । शनिबार बिदाको सदुपयोग गर्दै किनमेल गर्न र सांगीतिक रुपमा मनोरन्जन लिनका लागि दर्शकको घुइँचो लागेको हो ।
शनिबार दिउँसो स्थानीय कलाकारहरुका अतिरिक्त राष्ट्रिय रुपमा लोकदोहोरी गीतका क्षेत्रमा ख्याति कमाएका गायक श्याम राना र गायिका भूमिका गिरीले मनहरीका दर्शकहरुलाई नचाउन सफल हुनु भएको थियो ।
उहाँहरुको एकल प्रस्तुतिपछि लाइभ दोहोरी समेत प्रस्तुत भएको थियो । दोहोरीमा रमाएर दर्शकहरु उहाँहरुलाई साथ दिँदै नाचिरहेका देखिन्थे ।
आइतबारका लागि स्थानीय कलाकारहरुसहित राष्ट्रिय रुपमा चर्चित गायिक प्रिती आले महोत्सवमा आउने निश्चित भएको छ । उहाँका चर्चित थुप्रै गीतहरु छन् । तीमध्ये ‘आयो तेरो मिस, चुप लाग साला ठिस्’ बोलको गीत निकै चर्चामा छ ।
चैत ४ गतेसम्म सञ्चालन हुने महोत्सवमा आगामी दिनहरुमा चर्चित कलाकाहरु आउने तालिका सार्बजनिक भइसकेको छ ।
गायक राजु परियार, ज्योति मगर, दुर्गेश थापा, विश्व दोङ, उर्गेन लामा, एलिना चौहान लगायत चर्चित अनुहारलाई महोत्सवमा ल्याउने तयारी भएको महोत्सवका व्यवस्थापक एभरेष्ट इमेन्ट म्यानेजमेन्ट प्रालिले जनाएको छ ।