मनहरी–फागुन २५ गते । मनहरी गाउँपालिका वडा नं ८ स्थित खेलमैदानमा फागुन २१ गतेदेखि जारी मनहरी खेलकुद तथा ब्यापार महोत्सवमा आइतबार राष्ट्रिय कलाकार प्रिती आलेले दर्शकलाई नचाएकी छिन् ।
स्टेजमा १ घण्टाभन्दा बढी उनले विभिन्न थरिका गीतहरु गाइरहँदा दर्शकहरुले जोडतोडले नाचेका देखिन्थे । ‘चुप लाग् साला ठीस्, आयो तेरो मिस्’, ‘पटको के झोरा’, ‘सोल्टी राजाको’ लगायत थुप्रै गीतहरु गाएकी थिइन् । गायिका आलेका अलावा स्थानीय कलाकारहरुको प्रस्तुति महोत्सवमा रहेको थियो ।
फागुन १६ गते सोमबार चर्चित गायिका ज्योति मगर मनहरी खेलकुद तथा ब्यापार महोत्सवमा आउने भएकी छिन् । ज्योति मगरसँगै गायक रवि रिमालको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।
गायिका ज्योति मगरको आगमनसँगै सोमबार दर्शकको चाप बढ्ने अपेक्षा गरिएको मनहरी खेलकुद विकास समितिका सदस्य कविन मगरले बताए । शनिबार महोत्सवमा अत्यधिक भिड थियो भने सोमबार प्रिती आलेको प्रस्तुतिका हेर्नका लागि पनि दर्शकहरु झुम्मिएका थिए ।
ज्योति मगरसँगै अबका दिनहरुमा चर्चित गायक गायिकाहरु आउने तालिका सार्बजनिक भएको छ । योसँगै महोत्सवमा दर्शकको संख्या बढ्दै जाने आयोजकले आँकलन गरेको छ ।
मेलामा २ सयभन्दा बढी स्टलहरु राखिएका छन् । स्टलहरुमा ब्यापारको दर समेत बढ्दै गइरहेको आयोजकले जनाएको छ । यसैबीच महोत्सवसँगै मनहरी गाउँपालिका खेलकुद विकास समितिले अध्यक्ष कप फुटवल प्रतियोगिता र उपाध्यक्ष कप भलिबल प्रतियोगितासहित क्रिकेट, एथ्लेटिक्स, ब्याडमिन्टन लगायतका खेलहरुमा पनि प्रतिस्पर्धा गराइरहेको छ ।
भोलि फागुन २६ गते मनहरी ८ सिम्पानीस्थित महोत्सवस्थल छेवैमा उपाध्यक्ष कप भलिबल प्रतियोगिताको सुरु हुने समितिका अध्यक्ष बीरु लामाले बताए ।
फागुन २४ गतेदेखि अध्यक्ष कप फुटवल प्रतियोगिता पनि मनहरी ७ स्थित मदन भण्डारी क्षेत्रीय रंगशालामा जारी नै रहेको फुटवल संयोजक विकास लामाले बताए ।