मनहरी–माघ १५ गते । नेपालमा अहिले बर्षेनी २ हजार १ सय महिलाहरुमा पाठेघरको क्यान्सरको संक्रमण भइरहेको छ । तीमध्ये एकहजार ३ सय जना महिलाहरुको मृत्यु पनि भइरहेको छ । पाठेघरको मुखमा हुने क्यान्सर शारीरिक सम्बन्ध कै कारण हुने गरेको छ ।
यसै सन्दर्भमा पाठेघरको मुखमा हुने क्यान्सरलाई न्यूनिकरण गर्न सरकारले एपीभी खोप लगाउने राष्ट्रिय अभियान सुरु गरेको छ । जस अनुसार मनहरी गाउँपालिकामा पनि माघ २२ गतेदेखि २५ गतेसम्म अभियान सञ्चालन गरिने मनहरी गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
मनहरी गाउँपालिकामा भएको कार्यपालिका सदस्य तथा सञ्चारकर्मीहरुबीचको अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाभित्र रहेका १० बर्षदेखि १४ बर्षसम्मका २ हजार २ सय जना किशोरीहरुलाई एसपीभी खोप लगाउन लागिएको स्वास्थ्य संयोजक रामचन्द्र दाहालले बताउनुभयो ।
उहाँका अनुसार आगामी माघ २२ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत २० वटा विद्यालयका लागि खोप केन्द्र तोकिएको छ । त्यसैगरी १० वटा स्वास्थ्य संस्थामा समेत गर्दा ३० वटा खोप केन्द्रमार्फत एचपीभी खोप लगाउने कार्य हुनेछ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले प्रभावकारी ढंगले खोप अभियान सञ्चालन गर्न स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम्सेवकहरुलाई निर्देशन दिनु भएको छ ।
उहाँले विद्यालय नगएका किशोरीहरुका लागि समेत खोप लगाउने वातावरण तयार गर्न निर्देशन दिनुभयो । आगामी गाउँसभामा अन्य उमेर समूहका महिलाहरुका लागि पनि एचपीभी भ्याक्सिन लगाउन सकिनेबारे सम्भावना खोजी गरिने र पहल गरिने अध्यक्ष कालाखेतीको भनाई छ ।
कार्यक्रममा उपाध्यक्ष सीता पुलामी मगर र सञ्चारकर्मीको तर्फबाट शिवकुमार काशीले धारणा राख्नु भएको थियो । कार्यक्रममा वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरु, कर्मचारीहरु तथा गाउँसभा सदस्यहरुको समेत सहभागिता रहेको थियो ।