राक्सिराङ–माघ १० गते । लामो समयदेखि चेपाङ बाहुल्यता रहेको राक्सिराङ गाउँपालिकासहित अन्य स्थानीय तह जिल्लाहरुको समेत समेटेर चेपाङ संरक्षित क्षेत्र घोषणा गरी विकासको रफ्तार बढाउन बागमती प्रदेश सरकारलाई आग्रह गरेपनि उक्त पहल सफल हुन सकेन ।
यद्यपि, बागमती प्रदेशको नीति तथा कार्यक्रममा भने चेपाङ संरक्षित क्षेत्र घोषणा गरी ती क्षेत्रको विकासलाई जोड दिने भन्ने कुरालाई समेटियो ।

यो कामको अगुवाई गरिरहनु भएका बागमती प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री सन्तबहादुर चेपाङसहित चेपाङ नेतृत्वको समेत आग्रह र कानूनी तथा संवैधानिक प्रावधानलाई समेत आत्मसात गरी राक्सिराङ गाउँपालिका आफैले कुनै निश्चित क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरी विकास गर्न तयार भएको छ ।
सोही बमोजिम गाउँपालिकाको १७ औँ हिउँदे अधिवेसनबाट वडा नं ७ लाई चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको रुपमा घोषणा गरी विकास निर्माणका काम अघि बढाउने तयारी भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनु भएको छ ।
सांस्कृतिक तथा पर्यटकीय संरक्षित क्षेत्रका सम्बन्धमा राक्सिराङ गाउँपालिका ७ दामराङमा विहिबार आयोजना भएको अन्तरसम्बाद कार्यक्रममा अध्यक्ष मल्लले संविधानले दिएका अधिकारहरुको कार्यान्वयन नगरेर संघीय र प्रदेश सरकारले स्थानीय सरकारमाथि अन्याय गरेको आरोप लगाउनु भएको छ ।
राक्सिराङजस्तो पिछडिएको चेपाङ समुदायको उच्च बसोबास रहेको गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गरी धमाधम विकासका काममा प्राथमिकता दिनुपर्नेमा दुबै तहका सरकारले हेला गरेको उहाँको भनाई थियो ।
राक्सिराङ गाउँपालिकाको भर्खरै सम्पन्न भएको १७ औं हिउँदे अधिबेसनले वडा नं ७ लाई सांस्कृतिक र पर्यटीय संरक्षित क्षेत्र बनाएर विकास गर्ने घोषणा गरेपछि त्यसबारे छलफल गर्न राक्सिराङ ७ दामराङमा आयोजित अन्तरसम्बाद कार्यक्रममा उहाँले यस्तो धारणा ब्यक्त गर्नु भएको हो ।
उहाँले संघीय र प्रदेश सरकारले हेला गरेको ठाउँलाई स्थानीय सरकारले नै संवैधानिक अधिकार प्रयोग गरी संरक्षित क्षेत्र घोषणा गरी विकास प्रक्रियालाई अघि बढाएको बताउनुभयो ।
राक्सिराङ गाउँपालिकाले वडा नं ७ लाई सांस्कृतिक र पर्यटकीय क्षेत्र घोषणा गर्दै पर्यटन र सांस्कृतिक पक्षको विकासका लागि दामराङ घोषणा पत्र जारी गरेको छ । राक्सिराङ ७ मा भएको अन्तरसम्बाद कार्यक्रममार्फत दामराङ घोषणा पत्र जारी भएको हो ।
घोषणापत्रमा पर्यटकीय क्षेत्रको रुपमा राक्सिराङ ७ लाई विकास गर्ने, भौतिक पूर्वाधार लगायतका विकास निर्माणका कामहरुलाई तीब्रता दिने, चेपाङ समुदायको चालचलन र रीतिरिवाजलाई संरक्षण गरेर त्यसको प्रवद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटनलाई प्रोत्साहन गर्ने लगायतका बिषयहरु घोषणापत्रमा समेटिएको छ ।
पर्यटकीय तथा सांस्कृतिक संरक्षित क्षेत्र घोषणाका सम्बन्धमा आयोजना भएको अन्तरसम्वाद कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले धार्मिकताका कुराले जातीय पहिचानमा समेत असर परिरहेको उल्लेख गर्नुभयो ।
संविधानसभा सदस्य एबम् नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले चेपाङ संरक्षित क्षेत्र निर्माणका लागि संघले कुरा उठाइरहेको र स्थानीय सरकारसँग समन्वय गरेर आवाजलाई बुलन्द गरिएको बताउनुभयो ।
कार्यक्रममा ३ नं वडाका वडाध्यक्ष उत्तम वाइबाले मन्तब्य ब्यक्त गर्नु भएको थियो पूर्व वडाध्यक्ष कुलबहादुर प्रजाले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
७ नं वडाध्यक्ष रामबहादुर प्रजाको सभाध्यक्षतामा भएको कार्यक्रममा सुक्ष्म पुष्प समाजका तर्फबाट चेपाङको पहिचान तथा ७ नं वडाको पर्यटकीय क्षेत्रको सम्भावनाहरु समेटिएको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास पूर्व राज्यमन्त्री सन्तबहादुर चेपाङ, नाफानका डा. भोला भट्टराई, कार्यपालिका सदस्य सिंगलाल चेपाङसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, पत्रकार र चेपाङ सांस्कृतिक टोलीका कलाकारहरु सहभागी हुनुहुन्थ्यो ।