Monday, March 17, 2025

मनहरीका निजी विद्यालयहरुमा प्रि–बिएलई

ताजा / भरखरै प्राप्त

मनहरी–फागुन ५ गते । मनहरी गाउँपालिकाभित्र कक्षा ८ सञ्चालन गरिरहेको निजी तथा आवासीय विद्यालयका विद्यार्थीका लागि आधारभूत तहको पूर्वपरिक्षा (प्रि–बिएलई) सुरु गरिएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) मनहरी गाउँपालिका कमिटीले परिक्षा सञ्चालन गरेको हो । फागुन १ गतेबाट सुरु भएको प्रि बिएलईमा १०८ जना परिक्षार्थी सहभागी रहेको मनहरी प्याब्सनले जनाएको छ ।

मनहरी प्याब्सनले गोप्य रुपमा प्रश्नपत्र तयार गरी दुईवटा परिक्षा केन्द्र तोकेर परिक्षा सञ्चालन गरिरहेको अध्यक्ष यदुनाथ श्रेष्ठले बताउनुभयो । ‘परिक्षामा सम्मिलित विद्यालयभन्दा बाहिरका विज्ञबाट प्रश्नपत्र सिर्जना गराई परिक्षा सञ्चालन गरिरहेका छौँ’, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

उहाँका अनुसार प्रि बिएलईको परिक्षाको केन्द्रको रुपमा मनहरी ७ स्थित युनिभर्सल लर्निङ एकेडेमी र मनहरी ८ मा रहेको युनाइटेड इंग्लिस सेकेन्डरी बोर्डिङ स्कूल तोकिएको छ ।

युनिभर्सल परिक्षा केन्द्रमा युनाइटेडका ४९ जना परिक्षार्थीले परिक्षा दिएका छन् भने युनाइटेड परिक्षा केन्द्रमा मेरीगोल्ड टाइनिटस सेकेन्डरी इंग्लिस स्कूल, रेड एन्जल एकेडेमी र युनिभर्सल लर्निङ एकेडेमीका परिक्षार्थीहरु सहभागी छन् ।

परिक्षापश्चात उत्तरपुस्तिका समेत फरक फरक विद्यालयका शिक्षकहरुले जाँच गर्ने व्यवस्था मिलाइएको छ । प्रवेश पत्र, प्रश्न पत्र र अन्य सबै प्रशासनिक प्रक्रियालाई सरकारले सञ्चालन गर्ने बीएलइ परिक्षाकै मोडलमा व्यवस्थापन गरिएको छ ।

‘बीएलई परिक्षा पालिका लेभलमा हुने भएकाले विद्यार्थीहरुलाई उक्त परिक्षाबारे अग्रिम रुपमा बुझाउन र बालबालिकाकाहरुको शैक्षिक अबस्था बुझ्नका लागि प्रि बिएलई परिक्षा चलाएका हौं’, अध्यक्ष श्रेष्ठले भन्नुभयो–‘बालबालिकाको कन्फिडेन्ट लेभल बढाउने हाम्रो उद्देश्य हो, त्यसका लागि परिक्षा केन्द्रहरु नै अन्यत्रै बनाएका छौं, होम सेन्टर दिएका छैनौं ।’

लोकप्रिय

Related Articles