Tuesday, January 14, 2025

राक्सिराङ आएर मुख्यमन्त्री लामाले भन्नुभयो–घर जाने छुट्टै बाटो, गोठ जाने छुट्टै बाटो नबनाउनू

ताजा / भरखरै प्राप्त

राक्सिराङ–पुस २५ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्राथमिकताका आधारमा विकासका योजनाहरुको कार्यान्वयन गर्दै जानुपर्नेमा जोड दिनु भएको छ ।

अन्यथा तित्राको बच्चा समाउन खोज्दाको जस्तो अबस्था हुने उहाँको भनाई थियो । आफू सानै हुँदा तित्राका बच्चा समात्न गएको प्रसंग निकाल्दै मुख्यमन्त्री लामाले भन्नुभयो–‘यताबाट समायो, उता फुत्कन्छ । उता हे¥यो, यता हराउँछ ।’

विकास निर्माणका कामलाई एकपछि अर्काे गर्दै बलिया बनाएर लैजानुपर्नेमा उहाँको जोड थियो । राक्सिराङ गाउँपालिकाको १७ औँ हिउँदे अधिवेसनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सडक बनाउने नाउँमा घर जाने छुट्टै बाटो, गोठ जाने छुट्टै बाटो बनाउन नहुने भन्दै उहाँले व्यंग्य गर्नुभयो । जथाभावी सडक खन्ने कार्य रोकिनुपर्ने भन्दै आवश्यक रहेका सडकहरुलाई बलियो गरी चलाउनुपर्नेमा उहाँको जोड थियो ।

उहाँले योजनालाई राजनीतिक पार्टी तथा जनप्रतिनिधिहरुले भोटसँग साँट्ने कार्य कदापि गर्न नहुने बताउनुभयो ।
राक्सिराङ गाउँपालिकाको १७ औँ हिँउदे अधिवेसनको उदघाटन सत्रलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्ताैलाले कानून निर्माण गर्ने काममा आफ्नो सक्रियता रहेको भन्दै विकास निर्माणका काममा सरकारको ध्यानार्षण गराइने बताउनुभयो ।

उहाँले राक्सिराङ गाउँपालिकाले देखाएको साझा चरित्रको प्रशंसा गर्दै अन्य पालिकाहरुले राजनीतिक स्वार्थबाट टाढा रहेर व्यवहार गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास पूर्व राज्यमन्त्री सन्तबहादुर चेपाङ, बागमती प्रदेशका पूर्व सांसद ओमबहादुर ग्लान, संविधान सभा सदस्य गोविन्दराम चेपाङ, नेपाली काँग्रेसका राक्सिराङ सभापति बीरेन्द्र जिम्बा, नेकपा एमालेका राक्सिराङ इन्चार्ज बाबुलाल स्याङ्तान, ९ नं वडाका वडाध्यक्ष ओमराज थिङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले अध्यक्षको आसनबाट बोल्दै राक्सिराङ गाउँपालिकाको समग्र विकासका लागि सबै राजनीतिक पार्टी र सरकारसँग आपसी समन्वय कायम गरी काम गरिरहेको बताउनुभयो ।

उपाध्यक्ष बनस्तम थिङले जनताको थाप्लोमा रहेको नाम्लोको डाम र पिठ्युँको भारी कहिले हट्ने भन्ने प्रश्न आम जनताले गरिरहेको सन्दर्भमा उक्त प्रश्न बागमती प्रदेश र संघीय सरकारलाई सुनाउन चाहेको बताउनुभयो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गर्ने व्यक्तिहरु, संस्था, कर्मचारी तथा सञ्चारकर्मीहरुलाई नगदसहित सम्मान गरिएको थियो । सो अबसरमा अतिथिहरुलाई पन्चेबाजाले स्वागत गरिएको थियो ।

लोकप्रिय

Related Articles