मनहरी–माघ २ गते । मनहरी गाउँपालिका ७ स्थित बुद्धशान्ति हरित पार्कमा २८६१ औँ डुल ल्हो (सर्प बर्ष) को अबसरमा २ दिन विविध सांस्कृतिक कार्यक्रमसहित सोनाम ल्होछार मनाइने भएको छ ।
आगामी माघको १६ र १७ गते गरी दुई दिन ल्होछार मनाउने तयारी भएको हो । ल्होछार मनाउनका लागि समाजसेवी एब्म मनहरी ७ स्थित मनकामना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुरेश मुक्तानको संयोजकत्वमा मूल समारोह आयोजक समिति समेत गठन भई तयारी तीब्र पारिएको छ ।
समितिले बुधवार बिहान पत्रकार सम्मेलन गर्दै २८६१ औँ सर्प बर्ष अर्थात डुल ल्हो को अबसर पारेर विविध सांस्कृतिक कार्यक्रमसहित ज्येष्ठ नागरिक सम्मान समेत गर्न लागेको जनाएको छ ।
संयोजक मुक्तानका अनुसार १६ र १७ गते मनाइने ल्होसार कार्यक्रममा गत बर्षहरुमा झैँ ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम छ । त्यसैगरी तामाङ परम्परागत पोशाकसहित तामाङ समुदायको प्राचीन खानेकुराको परिकार पनि मेलामा व्यवस्थापन हुनेछ ।
मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा सञ्चालन हुने कार्यक्रममा नेपालकै चर्चित गायक मिलन लामा, लोकदोहोरी गायिका ज्योति मगर, जीवन बोम्जन, रेश्मा पुन समेत आउने निश्चित भएको छ । स्थानीय कलाकारहरु तथा सांस्कृति केन्द्रहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।
कूल ८ लाख ५० हजार लगानी रहने कार्यक्रमको तयारी थालिएको पत्रकार सम्मेलनमार्फत मूल समारोह समितिका संयोजक मुक्तानले जानकारी दिनु भयो ।
ल्होछारलाई भब्य बनाउनका लागि मनहरी गाउँपालिका, मनहरी गाउँपालिका ७ नं वडा कार्यालय, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, विभिन्न संघसंस्थाहरु, व्यक्ति, समुदायबाट सहयोगको अपेक्षा गरिएको उहाँको भनाई छ ।
पत्रकार सम्मेलनमा राक्सिराङ गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, मनहरी ७ का वडाध्यक्ष ठाकुरराम तितुङ, कैलाश गाउँपालिकाका निवर्तमान अध्यक्ष टंकबहादुर मुक्तान, नेकपा माओवादी केन्द्रका जिल्ला सचिव बीरबहादुर घलान ज्वाला, मनहरी खेलकुद विकास समितिका अध्यक्ष बीरु लामा, डिपाड सामुदायिक वनका अध्यक्ष डम्बर मुक्तान, मनकामना सनातन धर्म संरक्षण संस्थाका अध्यक्ष नारायण सुवेदी, समाजसेवी मानबहादुर मुक्तान लगायतकाको सहभागिता रहेको थियो ।
त्यसैगरी पत्रकार सम्मेलनमा सांग छोइफेल गुम्बा ब्यबस्थापन समितिका अध्यक्ष गौतम लामा, युवा नेता तथा नेकपा एकीकृत समाजवादी जिल्ला सदस्य सगुन स्याङ्तान, युवा ब्यबसायी शिवशंकर स्याङ्तान, सुसन भोलन, तामाङ पत्रकार संघ बागमती प्रदेश अध्यक्ष ज्ञानेन्द्र तामाङ, फोनिज जिल्ला उपाध्यक्ष सन्देश थिङ, अपांग स्वावलम्बन जीवन पद्दति केन्द्र अध्यक्ष दिलबहादुर स्याङ्बो, नेपाल क्योकुसिन कराँते डोजो प्रमुख लवाङ दोर्जे लामा, नेपाली काँग्रेस मनहरी ८ का सभापति भीमसेन लामा लगायत सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रमको संचालन गोविन्द गलान (गोपी) ले गर्नु भएको थियो । मनहरीमा बुद्ध शान्ति हरित पार्क निर्माण भएपछि लगातार यो तेश्रो ल्होछार मेला आयोजना गरिएको मूल समारोह समितिका संयोजक मुक्तानले बताउनु भयो ।