Tuesday, January 14, 2025

मउबा संघ चुनावः पश्चिम क्षेत्र आरक्षण कोटामा नारायण सुवेदीको उम्मेदवारी घोषणा

ताजा / भरखरै प्राप्त

मनहरी–पुस २५ गते । मकवानपुर उद्योग बाणिज्य संघ हेटौँडाको आगामी पुस २७ गते हुने निर्वाचनमा मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरी अन्तर्गत रहेको आरक्षण कोटामा व्यवसायी नारायण सुवेदीले उम्मेदवारी घोषणा गर्नु भएको छ ।

मनहरीलाइभ डटकमसँग कुराकानी गर्दै उहाँले निर्वाचनमा आफ्नो उम्मेदवारी रहने दाबी गर्नुभयो । आज बिहिबार दिउँसो उहाँले उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गर्नु भएको बताउनुभयो ।

‘व्यवसायीहरुका हकहितका लागि काम गरेको छु, पश्चिम क्षेत्र समितिमा संस्थापक उपाध्यक्ष, बरिष्ठ उपाध्यक्ष, कार्यबाहक सभापति हुँदै सभापति समेत भएर काम गरेको अनुभव पुनः व्यवसायीकै हितमा लगाउन चाहन्छु’, उहाँले भन्नुभयो ।
उहाँले आफू बरिष्ठ उपाध्यक्ष हुँदा १० धूर जग्गा दान दिएर मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिको भवन निर्माण बजेटको व्यवस्थापन गर्न लगाएर भवन सम्पन्न गराउनु भएको बताउनुभयो ।

‘काम हुँदा हुँदै हाम्रा तत्कालीन सभापति गोविन्द रिजाल बित्नुभयो, त्यसपछि उहाँले अधूरा छाड्नु भएका कामहरु मैले कार्यबाहक अध्यक्ष बनेर पूरा गर्दै गएँ’–सुवेदीले भन्नुभयो–‘यो बीचमा कोरोनाकालमा व्यवसायीहरुको व्यवसाय सञ्चालन गर्नका लागि गरिएको अगुवाई, मनहरीबाटै व्यवसायीहरुको करचुक्ता प्राप्त गर्ने पद्धति, साना र मझौला होटलहरुलाई भ्याटबाट पानमा परिणत गर्नका लागि मैले खेलेको नेतृत्वदायी भूमिका व्यवसायीहरुले बुझ्नु भएकै छ ।’
आफूले निरन्तर व्यवसायीकै पक्षमा काम गरिरहेको र जुन पदमा काम गरेपनि सोही पदमा नदोहोरिएको स्मरण गर्दै उहाँले यसपटक आरक्षण कोटाबाट सदस्य बन्ने अठोटका साथ अघि बढेको बताउनुभयो ।

‘अरु अरु पनि उम्मेदवार होलान्, बन्लान्’, उहाँले भन्नुभयो–‘व्यवसायीको हितका लागि मैले बिगतमा गरेको योगदान, जग्गादान लगायतका कुराहरु पनि सम्झेर मतदाताहरुले मूल्यांकन गर्नेछन् ।’

लोकप्रिय

Related Articles