Tuesday, January 14, 2025

यस कारण रमौलीको विद्यालयबाट हराएका रहेछन् बालिकाहरु

ताजा / भरखरै प्राप्त

मनहरी–पुस २४ गते । बालबालिकाहरुलाई अपरिचित मान्छेहरुले लैजाने, अपहरण गर्ने र लुकाउने गरेका घटनाहरु सुनिएकै हो । विद्यालय परिसरबाटै त्यसरी बालबालिका हराउँदा विद्यालय प्रशासनलाई ठूलो दबाब र चुनौति आइपर्छ ।

पुस २३ गते मंगलबार यस्तै भयो, मनहरी गाउँपालिका वडा नं ७ रमौलीस्थित ब्रह्मकाली आधारभूत विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुलाई पनि । दिउँसो ३ बजेर २० मिनेटमा बाल विकास केन्द्रदेखि कक्षा ३ सम्मको अध्यापन छुट्टी भइसक्छ ।

छुट्टी भएपछि कक्षा तीनमा पढ्ने तीनजना बालिकाहरु (नाम गोप्य राखिएको) घरतर्फ लाग्दैनन् । उनीहरु विद्यालयबाट कबुलियती वनको सीमानामा पर्ने बाटो हुँदै रमन्टारबाट सडकतर्फ निस्कन्छन् । सडकै सडक हिँडेर बिजौना, मनहरी बजार, सिमपानी हुँदै मनहरी गाउँपालिका ८ को गुरुङ डाँडातर्फ जाने चोकमा पुग्छन् । त्यति हुँदासम्म निकै अबेर भइसक्छ ।

यता तीनजना विद्यार्थी हराएको पिरालोले अभिभावक, प्रधानाध्यापक ध्रुव सुनार, वडाध्यक्ष ठाकुरराम तितुङ, इलाका प्रहरी कार्यालय मनहरी, विद्यालय व्यवस्थापन समिति सबैको होस हवास उड्छ ।

उनीहरु सबै मिलेर कहिले कबुलियती बन क्षेत्रमा त त कहिले शौचालय र विद्यालयको कोठा कुनातिर बालिकाहरुलाई खोजिरहन्छ । तर फेला पर्दैनन् । साँझको समयमा वन्यजन्तुको उत्तिकै डर हुन्छ ।

हात्ती, गैँडा र बाघले मध्यवर्ती क्षेत्रको रमौली प्रतापपुरमा सदैब सताइरहन्छ । न पो जंगली जनावरको निसानामा परे कि ? भन्ने पनि अनुमान लगाइन्छ ।

यत्तिकैमा प्रहरीमा एउटा खबर पुग्छ । नचिनेका बालबालिकाहरु मनहरी ८ को सिमपानीस्थित गुरुङ डाँडा जाने चोकमा भेटिएका छन् भन्ने खबरले ठूलो राहत मिल्छ । नभन्दै तीनैजना रोइरहेका अबस्थामा त्यहाँ फेला परे । प्रहरीले उनीहरुलाई उद्धार गरी ल्याए ।

मंगलबार राति नै आफन्तलाई बुझाए । ८–१० बर्षका अबोध बालिकाहरु घरबाट साह्रै नै मन दुखेपछि जाऊन् पनि कहाँ ? बिहान घरबाट विद्यालय जाने बेला ऐना फुटाएकाले ‘बेलुका घर आउलास्’ भनेर धम्क्याएको भन्ने बुझिन्छ । त्यही डरले उनीहरु घर जना चाहेनन् । र, लागे सडकै सडकको यात्रामा ।

तीमध्ये २ जना बुधवार बिहानैदेखि विद्यालयमा हाजिर भएको प्रधानाध्यापक सुनारले बताउनुभयो । ‘यो घटनाले हामीलाई बाललबालिकाप्रतिको संवेनदशिलताबारे अध्ययन गर्ने अबसर मिलेको छ, हामीले विद्यालय व्यवस्थापन समितिको आकस्मिक बैठक पनि राख्यौं’, प्रधानाध्यापक सुनारले भन्नुभयो ।

आगामी दिनहरुमा यस्ता घटना नदोहोरिऊन् भन्नका लागि अभिभावकहरुलाई सम्झाइबुझाइ गर्ने र बालबालिकालाई पनि मोटिभेसनल बनाउनुपर्ने उहाँको भनाई छ ।

लोकप्रिय

Related Articles