मनहरी–पुस १६ गते । मनहरी गाउँपालिका ५ बसन्तपुरमा मान्छे र बाख्रा खाएर जंगलतिर भागेको बाघलाई मान्छेले नियन्त्रण लिएका छन् । आफैले मारेको शिकार खान फर्केको बाघ मान्छेको फन्दामा परेको हो ।
पुस १४ गते साँझ घाँस काट्न निस्केकी कान्छीमाया रुम्बालाई घर छेवैमा मारेको र सोही रात अन्य ७ वटा बाख्रालाई खोरमै मारेर भागेको बाघ शिकार खोज्दै पुनः गाउँ फर्कने क्रममा डार्ट गरिएको हो ।
टाढैबाट गोली हाने जसरी बाघ वा अन्य वन्यजन्तुलाई सुईमार्फत बेहोस बनाउने औषधी लगाउने प्रक्रियालाई डार्ट गर्ने भनिन्छ ।
बाघले मारेको बाख्रालाई बाघ जंगलतिर भागेको ठाउँतिर राखेर डार्ट टोली स्ट्यान्डबाइ बसेको थियो । चितवन राष्ट्रिय निकुन्ज तथा पर्सा राष्ट्रिय निकुन्जका प्राविधिकहरु, नेपाली सेना, जनप्रतिनिधिसहितको टोलीले मरेको बाख्रा देखाएर बाघलाई आकर्षित गर्ने र डार्ट गरेर नियन्त्रणमा लिने उपाय निकालेका थिए ।
सोही बमोजिम सोमबार साँझ बाघ आउने सम्भावित बाटोमा बाख्रा राखिएकामा मंगलबार साँझ सोही बाटो भएर बाघ आएको र टोलीले राखेको बाख्रा खाने क्रममा डार्ट गरिएको मनहरी गाउँपालिका ५ नं वडाध्यक्ष दीपेन्द्र अधिकारीले बताउनुभयो ।
बाख्रालाई घिसार्ने क्रममा डार्ट गरिएको र केही परमात्रै बाघ बेहोस अबस्थामा फेला परेका उहाँले बताउनुभयो । डार्ट गरिएपछि शिकार राखिएको वरपर ४ वटा हात्ती प्रयोग गरेर बाघको खोजी गरिएको थियो ।
बेहोस् अबस्थाको बाघलाई चितवन राष्ट्रिय निकुन्ज कसरा लगिने बताइएको छ ।