राक्सिराङ–१५ पुस । सहकारी तथा गरिवी निबारण मन्त्री मधुकुमार श्रेष्ठले राज्यले किनारा पारेका समुदायलाई मूलधारमा ल्याउने व्यवस्था भएका कारण सीमान्तकृत र जनजाति समुदायका मानिसहरु पनि राज्य सञ्चालनको बागडोर सम्हाल्ने अबस्थामा पुगेको बताउनु भएको छ ।
राक्सिराङ गाउँपालिका वडा नं ५ चैनपुरस्थित हाट बजार स्थलमा यस बर्षको पहिलो हाट बजारको सुरुवात गर्दै मन्त्री श्रेष्ठले राक्सिराङ गाउँपालिकाबाटै सन्तबहादुर चेपाङ मन्त्री बन्ने अबसर यही व्यवस्थापले दिलाएको बताउनुभयो ।
उहाँले आगामी दिनमा पछाडि पारिएका भूगोल, समुदाय तथा क्षेत्रको विकासका लागि आफू र आफू नेतृत्वमा रहेको मन्त्रालयले सदैव काम गर्ने बताउनुभयो । स्थानीय कृषि उत्पादन बृद्धि गरी आर्थिक अबस्था सुधार गर्न सके समृद्ध देश, समृद्ध प्रदेश तथा समृद्ध पालिकाहरु निर्माण हुनेमा आफू आशावादी रहेको उहाँको भनाई थियो ।
हाटबजार उद्घाटन समारोहमा बरिष्ठ पत्रकार प्रताप बिष्ट, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति गणेशमान मानन्धर, कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, संविधानसभा सदस्य गोविन्दराम चेपाङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष बनस्तम थिङले व्यक्त गर्नु भएको हो ।
कार्यक्रममा चेपाङ, तामाङ तथा अन्य समुदायले आफ्ना पहिचानसहितका लोक संगीत, संस्कृति र नृत्यहरु प्रस्तुत गरेका थिए । हाटबजारलाई यस बर्ष गत बर्षको भन्दा राम्ररी व्यवस्थापन गरिएको छ ।
हाटबजारमा होटलहरुका लागि छुटटै स्टल निर्माण गरिएको छ । राक्सिराङ गाउँपालिकामा उत्पादित मास, गहत, रायोको साग, मुला, सुन्तला, च्याउ, केरा, जंगली कन्दमूलहरु गिट्ठा, भ्याकुर, तरुल, बाँसबाट बनेका सामग्रीहरु हाटबजारमा बिक्री बितरणमा राखिएका थिए ।
हरेक महिनाको १ र १५ गतेका दिन राक्सिराङ गाउँपालिकाले हाट बजार सञ्चालन गर्नेछ ।
तस्वीरमा हेरौँ हाटबजारका दृष्यहरुः
तस्वीरः शिवकुमार काशी/मनहरीलाइभ डटकम ।