मनहरी–पुस १४ गते । मनहरी गाउँपालिका ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालय परिसरमा शनिबारदेखि जारी राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता अन्तर्गत भलिवलबाहेकका सबै खेलहरु सम्पन्न भएका छन् ।
सोमबार छात्र र छात्रातर्फको भलिवल र पालिकास्तरीय शिक्षक भलिवलका फाइनल खेलहरु हुने प्रतियोगिताको व्यवस्थापन गरिरहेको विद्यालय राष्ट्रिय रोटरी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक साधुराम रिजालले बताउनुभयो ।
उहाँका अनुसार सोमबार हुने छात्रतर्फको भलिबलमा महेन्द्रज्योति मावि मनहरी ३ र पशुपतिनाथ मावि मनहरी ४ बीच स्पर्धा हुनेछ ।
त्यसैगरी छात्रातर्फको भलिबल महेन्द्रकिरण माध्यमिक विद्यालय मनहरी ८ र महेन्द्रज्योति माध्यमिक विद्यालयव मनहरी ३ बीच हुनेछ । शिक्षकतर्फको भलिबल वडा नं ३ र ४ का बीच हुने आयोजक मनहरी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।
आइतबार साँझसम्म सम्पन्न भएका खेलहरुमध्ये छात्रातर्फको कबड्डी खेल बालजीवन ज्योति मावि मकरीले जितेको छ भने सोही खेलको छात्रतर्फ भने राष्ट्रिय रोटरी माध्यमिक विद्यालयले जितेको छ ।
त्यसैगरी छात्रतर्फको सटपुट महेन्द्रकिरण मावि मनहरी ८ का किरण ब्लोनले जित्नु भएको छ भने छात्रातर्फ मनहरी १ को बालजीवन ज्योति माविकी सीमा स्याङ्बोले जित्नु भएको छ ।
ज्याभलिङ थ्रो अन्तर्गत भएको प्रतिस्पर्धाको छात्रातर्फ युवा बर्ष गंगा आधारभूत विद्यालय मनहरी ८ का जुनामाया घलानले जित्नु भएको छ भने छात्रतर्फको खेलमा बालजीवन ज्योति माध्यमिक विद्यालयका मनहरी १ का शक्ति बुलुनले जीत हासिल गर्नु भएको छ ।
ट्रिपल जम्पको छात्रतर्फको खेल बालजीवन ज्योति मनहरी १ का अमृत आत्रेय उपाध्याय र छात्रातर्फको खेल बालजीवन ज्योतिकै करुणा घिमिरेले जित्नु भएको छ । हाइजम्पको छात्रतर्फ राष्ट्रिय रोटरी मावि मनहरी ७ का सुदीप बोट र छात्रातर्फ बालजीवन ज्योति मावि मनहरी १ का सरस्वती मैनालीले जीत हासिल गर्नु भएको छ ।
लङ जम्पमा राष्ट्रिय मावि मनहरी ६ सुनाचुरीका समिर कुशवार र छात्रातर्फ युवा बर्ष गंगा आधारभूत विद्यालयकी गीता न्यौपानेले जित्नु भएको छ । ४ सय मिटरको रिले दौडमा सुनाचुरी मावि मनहरी ६ र १६ सय मिटरको रिले दौडमा पनि सोही विद्यालयले जीत निकालेको छ ।
त्यसैगरी सय मिटर छात्रतर्फको दौडमा राष्ट्रिय मावि मनहरी ७ बिजौनाका समिर थिङ र छात्रातर्फ राष्ट्रिय मावि सुनाचुरीकी दिपिका विकले जीत हासिल गर्नु भएको छ ।
२ सय मिटर दौडमा छात्रतर्फ राष्ट्रिय रोटरी मावि मनहरी ७ का रोहन गोले र छात्रातर्फ राष्ट्रिय मावि मनहरी ६ की दिपिका विक बिजयी हुनु भएको छ ।
४ सय मिटर छात्र दौडमा राष्ट्रिय मावि सुनाचुरीका समिर कुशवार र छात्रातर्फबाट महेन्द्रकिरण मावि मनहरी ८ की अनिषा पालले जीत हासिल गर्नु भएको छ ।
८ सय मिटर दौडको छात्रतर्फ राष्ट्रिय मावि सुनाचुरीका प्रविण जिम्बा तथा छात्रातर्फ युवा बर्ष गंगा आधारभूत विद्यालय मनहरी ९ की गीता न्यौपानेले जित हासिल गर्नु भएको छ ।
त्यसैगरी १५ सय मिटरको दौडमा छात्रतर्फ राष्ट्रिय मावि सुनाचुरीका प्रवीण जिम्बा र छात्रातर्फ युवा बर्ष गंगा आधारभूत विद्यालयकै सञ्जु दोङले बिजय हासिल गर्नु भएको छ ।
३२ सय मिटरको दौडमा सगरमाथा आधारभूत विद्यालयका रमेश प्रजा र छात्रातर्फको खेलमा राष्ट्रिय मावि मनहरी ७ बिजौनाकी अरुणा सुवेदीले जित्नु भएको छ ।
मनहरी गाउँपालिकाभित्र रहेका ८ वटा सामुदायिक माध्यमिक विद्यालय र ४ वटा आधारभूत विद्यालय सहित निजी क्षेत्रका २ वटा माध्यमिक विद्यालयले छनौट प्रतियोगितामा सहभागिता जनाएको मनहरी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।