मनहरी–पुस १४ गते । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले पार्टीको महाधिवेसनले पारित गरेको लक्ष्य हासिल गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताउनु भएको छ ।
नेकपा एमाले मनहरी गाउँपालिका कमिटीको नवगठित कार्य समितिको सपथ ग्रहण कार्यक्रमलाई मनहरी ८ स्थित सिमपानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नु भएको हो ।
‘एमालेका तल्ला कमिटीहरुको सक्रियता वा निष्क्रियता नै पार्टीको मूल मर्म धान्ने प्रक्रिया हो’, रानाले भन्नुभयो–‘जब तल्लो तहमा पार्टी र संगठनको काम चल्छ, तब मात्रै पार्टी जनतामाझ पुग्दछ ।’
उहाँले समृद्ध मनहरीको सपना पूरा गर्नका लागि नेकपा एमालेको नेतृत्व मनहरी गाउँपालिकामा आवश्यकता रहेकोमा जोड दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले भीम रावलमाथि भएको कारबाही उचित भएको बताउनुभयो । उहाँले पार्टी हित बिपरित बोल्दै हिँड्ने र कमिटी मातहत नरहने रावलको चरित्रका कारण कारबाही आवश्यक रहेको र कारबाहीपछि उहाँ नांगिएको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा निवर्तमान राष्ट्रिय सभा सांसद रामचन्द्र राई, केन्द्रीय निर्वाचन आयोग सदस्य तथा संविधानसभा सदस्य अनन्त पौडेल, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष श्रीधर पोखरेल, बागमती प्रदेश सदस्य बलराम बल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नवगठित कमिटीका अध्यक्ष नविन सुवेदी र लेखा समिति अध्यक्ष पुस्कर सुवेदीलाई निर्वाचन आयोगका तर्फबाट आरसी न्यौपानेले सपथ गराउनु भएको थियो ।
त्यसैगरी बाँकी पदाधिकारी र सदस्यहरुलाई अध्यक्ष नविन सुवेदीले सपथ गराउनु भएको थियो । कार्यक्रम निर्वाचन कमिटीका संयोजक एबम् बागमती प्रदेश कमिटी सदस्य अर्जुन अर्यालको अध्यक्षतामा भएको हो ।