Tuesday, January 14, 2025

सुनाचुरी आएर बागमती प्रदेशका वन मन्त्री भन्छन्–‘वन जोगाउने भावना बढाउनुपर्छ’

ताजा / भरखरै प्राप्त

मनहरी–पुस ९ गते । बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले वन जंगल जोगाउने हिसावको सोचाइ सबैमा हुनुपर्ने बताउनु भएको छ ।

मनहरी गाउँपालिका ६ स्थित सुनाचुरी सामुदायिक वन उपभोक्ता समूह र नमस्ते बायो इनर्जी उद्योगले संयुक्त रुपमा सञ्चालन गरेको ७ दिने अगरबत्ती निर्माण तालिमको उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नु भएको हो ।
‘वन जोगाउने र वन जोगाउनका लागि आम जनसमुदायको सहभागिता बृद्धि गर्नेगरी सबैले काम गर्नुपर्छ’, मन्त्री सिलवालले भन्नुभयो–‘बरु सामुदायिक वनको नाफ वा घाटा सबै उपभोक्ताहरुको पुग्नेगरी वन समूहहरुले काम गर्नु उपयुक्त हुनेछ ।’

उहाँले आफू मन्त्री भएर आएपछि निरन्तर वन र उद्यम जोड्ने बिषयलाई उठान गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर वनलाई उद्यमसँग जोडेर आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने काममा लागि परिरहने बताउनुभयो ।

खेर गएरका झाडी, वनमारा तथा माइकेनिया झारलाई जलाएर नष्ट गरी अगरबत्ती बनाउनका लागि कोइला बनाउने कार्यले महिला दिदीबहिनीहरुलाई रोजगारी समेत सिर्जना हुने भएकाले पवित्र काम भएको उहाँको भनाई थियो ।

कार्यक्रममा डिभिजनल वन कार्यालय राप्ती मनहरीका प्रमुख लोकराज नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका न्यायिक समिति सदस्य हेमलाल उप्रेती, महासंघ मनहरीका अध्यक्ष रघुनाथ रुम्बा, डिपाड सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डम्बर मुक्तान लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष पार्वती मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा वन समूहका सचिव रमेश कार्कीले स्वागत मन्तब्य तथा उद्योगका प्रवन्ध निर्देशक नारायण श्रेष्ठले सञ्चालन गर्नु भएको थियो ।

कार्यक्रमपछि चारकोल निर्माणका सम्बन्धमा मन्त्री सिलवालसहितको टोलीले जंगलको अवलोकन र अनुगमन गर्नु भएको थियो । ७ दिनसम्म चल्ने तालिममा स्थानीय महिलाहरुको सहभागिता रहेको वन समूहले जनाएको छ ।

लोकप्रिय

Related Articles