मनहरी–पुस ९ गते । मनहरी गाउँपालिका ७ नं वडा कार्यालयले आफ्नो वडामा जन्मेका शिशुको जन्मदर्ता प्रमाण पत्र र मृत्यु भएका व्यक्तिको मृत्यु दर्ता प्रमाण पत्र घरघरै पु¥याउन थालेको छ ।
वडाध्यक्ष ठाकुरराम तितुङले जनतालाई घरघरै आएको प्रत्याभूति दिलाउनका लागि यस्तो कार्यको सुरुवात गरिएको बताउनुभयो ।
मृत्यु दर्ता र घटनादर्ता बोकेर ११ वटा घरपरिवारमा आफूहरु पुगिसकेको वडाध्यक्ष तितुङले जानकारी दिनुभयो । ‘मृत्यु भएका परिवारको हकम गाउँपालिकाले अति बिपन्नको सूचिमा राखी किरिया खर्च पनि दिने गर्छ’, वडाध्यक्ष तितुङको भनाई छ–‘त्यो खर्च लिनका लागि पनि मृत्युदर्ता अनिबार्य चाहिन्छ ।’
मृत्यु भएका परिवारबाट सूचक खोजेर फारम भराउने र मृत्यु दर्ता प्रमाण तथा श्रद्धान्जली पत्र र फलफुल बोकेर शोकमा परेको घरमा जाने गरेको वडाध्यक्ष तितुङले बताउनुभयो ।
‘जनताको दुःख र सुखमा हामी साथ छौँ भन्ने भावनाको विकास गर्ने र जनप्रतिनिधिहरुलाई शासक नभई सेवक हुन् भनेर पहिचान दिलाउनका लागि यस्तो कार्य गरिएको उहाँको भनाई छ ।
कानून बमोजिम जन्म वा मृत्यु भएको ३५ दिनभित्र घटना दर्ता गरेमा कुनै शुल्क लाग्दैन । त्यसपछि बिलम्ब जरिबाना लाग्ने व्यवस्था छ ।
जन्म र मृत्युको हकमा सम्बन्धित घरमै गएर प्रमाण पत्र दिन थालिएकाले बिलम्ब शुल्क पनि नलाग्ने स्थिति आएको र वडा कार्यालयले साँचो अर्थमा घरघरमा सिंहदरबार भन्ने नारालाई सार्थक बनाउन चाहेको वडा सचिव श्याम दाहाले बताउनुभयो ।
आफ्नो कार्यकालको बाँकी समय अबधि भर नै जन्म र मृत्युदर्ता घरघरै पु¥याउने गरी काम गर्ने वडाध्यक्ष तितुङले बताउनुभयो ।