राक्सिराङ–मंसीर ९ गते । भूकम्पमा परी जोखिममा रहेको राक्सिराङ गाउँपालिका ७ गर्लिङमा रहेको सातकन्या प्राथमिक विद्यालयको भवन निर्माण कार्य सुरु भएको छ ।
भूकम्प गएको झण्डै एकदशकपछि नयाँ भवन बन्ने प्रक्रिया सुरु भएपछि विद्यार्थीहरु, अभिभावक र शिक्षकहरु खुसी भएका छन् ।
अब उनीहरुले भूकम्पले पनि ढाल्न नसक्ने नयाँ कक्षाकोठासहितको भवन प्राप्त गर्नेछन् । राक्सिराङमा लामो समयदेखि क्रियाशील गैरसरकारी संस्था लिसा हिमायलया इभी जर्मनीको सहयोग तथा दिगो विकासका लागि एकता नेपालको सामाजिक सहजीकरणमा विद्यालय भवन निर्माण सुरु गरिएको हो ।
एक बर्षभित्र निर्माण सम्पन्न गर्नेगरी थालिएको भवन निर्माण कार्यमा २ करोड १ लाख १७ हजार त्रिसट्ठी रुपैयाँ उनन्चालिस पैसा खर्च हुने लिसा हिमालया इभीको कन्ट्री डाइरेक्टर अन्जनप्रसाद पौडेलले जानकारी दिनुभयो ।
सातकोठे भवनको शिलान्याश गर्दै पूर्व गृहराज्यमन्त्री समेत रहनु भएका बागमती प्रदेशका सांसद इन्द्रबहादुर बानियाँले लोकतन्त्रले नै गाउँ गाउँमा विकासको लहर ल्याएको बताउनुभयो ।
उहाँले यदि देशमा निरंकुशतन्त्र हुन्थ्यो भने शिक्षा, स्वास्थ्य, सडकजस्ता विकासका पूर्वाधारहरु जनताले देख्नै नपाउने अबस्था आउने भन्दै लोकतन्त्रलाई सुदृढ बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले स्थानीय सरकारको दरिलो सहयोगीको रुपमा साबिक काँकडा क्षेत्रमा लिसा हिमालया इभीले काम गरिरहेकोमा प्रशंसा गर्नुभयो ।
त्यसैगरी बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास पूर्व राज्यमन्त्री सन्तबहादुर चेपाङले शिक्षाको उज्यालोले मात्रै समृद्ध राक्सिराङको कल्पना गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस मनहरीका सभापति प्रकाश बर्ताैलासहितले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एबम् विद्यालयका लागि जग्गादाता समेत रहनु भएका एकराज मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रको सञ्चालन राक्सिराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले गर्नु भएको थियो ।
लिसा हिमायलया इभीको र दिगो विकासका लागि एकता नेपालको सहकार्यमा राक्सिराङ ७ कै धिराङमा समेत ११ कोठे नयाँ विद्यालय भवन निर्माण हुने प्रक्रिया छिट्टै नै सुरु हुने कन्ट्री डाइरेक्टर पौडेलले जानकारी दिनु भएको छ ।