Wednesday, December 11, 2024

जलपरी झरना परिसरमा संकलन भयो पोकाका पोका प्लाष्टिकजन्य फोहर

ताजा / भरखरै प्राप्त

राक्सिराङ–कात्तिक २९ गते । राक्सिराङ गाउँपालिका ३ स्थित पर्यटकीय क्षेत्र जलपरी झरना तथा पार्क परिसरबाट पोकाका पोका प्लाष्टिकजन्य फोहर संकलन गरिएको छ ।

सव डिभिजन वन कार्यालय राक्सिराङको आयोजना तथा सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समूहको संयोजनमा प्लाष्टिकजन्य फोहर संकलन कार्यक्रम भएको हो ।

कार्यक्रम अन्तर्गत जलपरी झरना र पार्क क्षेत्रबाट मिनरल वाटरका बोत्तलहरु, मदिराका बोत्तलहरु, जंकफुडका कभरहरु संकलन गरिएको हो ।

‘प्लाष्टिकजन्य फोहरका कारण वातावरण शुद्धिकरणमा ठूलो समस्या विश्वभर बढ्दै गइरहेकाले हामीले पर्यटकीय क्षेत्रबाट प्लाष्टिकजन्य फोहर हटाउन चाहेका हौँ’, सव डिभिजन वन कार्यालयका अधिकृत सुजन मुक्तानले भन्नुभयो ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ राक्सिराङका अध्यक्ष थलबहादुर थापा (सन्तोष) ले राक्सिराङ गाउँपालिकाभित्र रहेका सबै सामुदायिक वन समूहहरुले प्लाष्टिकजन्य फोहरको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

स्थानीय सरकारसँगको समेत समन्वयमा फोहर व्यवस्थापन हुनुपर्ने उहाँले माग गर्नुभयो । संकलित फोहरको बिसर्जनमा पनि समस्या आइरहेको उहाँको भनाई थियो ।

कार्यक्रममा सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ज्ञानेन्द्र तामाङले पर्यटकीय क्षेत्रलाई सफासुग्घर र सुरक्षित बनाउनुपर्ने भन्दै सरकारले यस्ता मसिना कामहरुमा समेत ध्यान दिएकामा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा सामुदायिक वनका पदाधिकारीहरु, टोल विकास संस्थाका प्रतिनिधिहरु, नगरप्रहरी तथा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरुको सहभागिता रहेको थियो ।

लोकप्रिय

Related Articles