मनहरी–कात्तिक १४ गते । अनुगमन टोलीले रोक्का गरेको चामल बेपत्ता बनाएको मनहरी गाउँपालिका ७ स्थित माथिल्लो बजारको मंगलमय ट्रेडर्सलाई मनहरी गाउँपालिकाले जरिबानासहित २४ घण्टाभित्र सम्पर्कमा आउन पत्र काटेको छ ।
कात्तिक १४ गते बिहान नगरप्रहरी मार्फत ट्रेडर्सलाई पत्र बुझाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार गत असोज ६ गते अनुगमन टोलीले गोदाममा रहेको चामल प्रचलित मापदण्ड बमोजिम नभएको भेटिएकाले ५० हजार रुपियाँ जरिबाना गर्ने निर्णय भएको हो ।
साथै मापदण्ड बिपरित उक्त चामलको बिक्री बितरण, ओसारपसार रोक्का गरिएकामा त्यसको अबज्ञा गरी अटेर गरेकाले थप २० हजार रुपियाँ समेत गरी ७० हजार रुपियाँ जरिबाना गरिएको मनहरी गाउँपालिकाका शाखा अधिकृत शैलेस बास्कोटाले बताउनुभयो ।
कात्तिक १४ गते कार्यालय समयभित्र गाउँपालिकाको खातामा जरिबाना दाखिला गर्ने पत्राचार गरेको गाउँपालिकाले ट्रेडर्सलाई रोक्का गरिएको चामल दाखिला गर्न भनेको छ । चामलको नमूना जाँच गर्नुपर्ने भएकाले दाखिला गर्न भनिएको हो ।
कात्तिक १२ गते नमूना संकलनका लागि पुगेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय, मनहरी गाउँपालिका, प्रहरी, पत्रकार तथा मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिको प्रतिनिधि संलग्न टोलीले असोज ६ गते रोक्का गरेको चामल फेला पार्न नसकेपछि जरिबाना गरिएको हो ।
व्यवसायीले भने चामलमा कैफियत देखिएपछि सम्बन्धित राइस मिलमा नै फिर्ता गरिएको दाबी गर्दै आएको छ । ओम कैलाश ब्राण्डका ५३ बोरा र लक्ष्मी राईस मिलका ७ बोरा चामल रोक्का गरिएको हो ।
घटना सार्बजनिक भएलगत्तै चामल काण्डबारे गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, ७ नं वडाध्यक्ष ठाकुरराम तितुङ लगायत टोलीले चासो ब्यक्त गरेको थियो ।
बजार अनुगमन, व्यवस्थापनको अधिकार स्थानीय तहलाई नै भएकाले स्थानीय तहले नै जरिबाना तोकेर कारबाही गरेको ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिसहितको अनुगमन टोलीले पनि कारबाही गर्नका लागि गाउँपालिकालाई ध्यानाकर्षण गराएर फर्केको थियो ।