Thursday, November 14, 2024

मनहरी बजारमा सरकारले सिल गरेको ६० बोरा चामल हरायो

ताजा / भरखरै प्राप्त

मनहरी–कात्तिक १३ गते । पश्चिम मकवानपुरको प्रमुख ब्यापारिक केन्द्र मनहरी बजारमा सरकारी निकायसहित सरोकारवालाले शंकास्पद भनी रोक्का गरेको ६० बोरा चामल हराएको छ ।

मनहरी ७ स्थित माथिल्लो बजारमा रहेको मंगलयमय ट्रेडर्सबाट उक्त परिमाणको चामल हराएको हो । अनुगमन टोलीले गत असोज ६ गते ओम कैलाश ब्राण्डका ५३ बोरा र लक्ष्मी राइस मिलबाट उत्पादित ७ बोरा चामल बिक्री बितरण र उपभोग गर्न रोक्का गरेर गएको थियो ।

ती दुईवटै ब्राण्डका चामलका बोराहरुमा उपभोग्य मिति, उत्पादन मिति र ब्याच समेत नभेटिएपछि रोक्का गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलाई प्रयोगशालामा जाँच गर्न मनहरी गाउँपालिकाले पत्राचार गरेको थियो ।

मनहरी गाउँपालिकाको पत्र बमोजिम नमूना संकलन गर्न मंगलमय ट्रेडर्समा पुगेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति, प्रहरी तथा सञ्चारकर्मीको टोली पुग्दा रोक्का गरिएको कुनै पनि ब्राण्डका चामल नभेटिएको मनहरी गाउँपालिकाका उपभोक्ता हीत शाखाका अधिकृत शैलेस बास्कोटाले बताउनुभयो ।

‘हामीले चामलबारे ट्रेडर्सका प्रतिनिधिलाई सोध्दा सम्बन्धित मिलहरुमा नै चामल फिर्ता गरिएको उहाँहरुले बताउनुभयो’, अधिकृत बास्कोटाले भन्नुभयो–‘यसबारे अनुगमन टोलीलाई कुनै पनि जानकारी छैन ।’

व्यवसायी प्रतिनिधि ज्योति साहका अनुसार मनहरी गाउँपालिका ७ नं वडाका वडा सदस्य नवराज सुवेदीलाई सोधेर ती चामललाई सम्बन्धित मिलमै फिर्ता गरिएको थियो । व्यवसायीले पटक पटक गुनासो गर्न आएपछि जहाँबाट ल्याइएको हो त्यहीँ पठाइदिनु भनेर मौखिक कुरा गरिदिएको ७ नं वडा सदस्य सुवेदीले बताउनुभयो ।

रोक्का गरिएको चामल हराएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोली सोही ब्राण्डको उत्पादन मिति, ब्याच, उपभोग्य मिति उल्लेख भएको दुइ बोरा चामल किनेर प्रयोगशालामा लगेको छ भने घटनाबारे थप अनुसन्धान गरी आवश्यक कारबाही गर्न मनहरी गाउँपालिकालाई आग्रह गरेको छ ।

सिल गरिएको चामल नै झिकेर अन्यत्र लैजानेसम्मका क्रियाकलापहरु भइरहँदा समेत यस्ता घटनाहरु मनहरीमा गुपचुपमै राख्ने गरिएको छ ।

असोज ६ गते भएको अनुगमनमा पनि मंगलमय ट्रेडर्सबाट थुप्रै खाद्य सामग्रीहरुको म्याद गु्ज्रेको भेटिएको मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति गणेशमान मानन्धरले बताउनुभयो ।

अनुगमन तथा स्याम्पल कलेक्सनका सलागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका सागर दाहाल, दीपक घिमिरे, मकवानपुर उद्योग बाणिज्य संघका सभापति गणेश मानन्धर, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि दीपक पौडेल, मनहरी गाउँपालिकाका शैलेस बास्कोटा, इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी सहायक निरीक्षक तीर्थरा पौडेल, सञ्चारकर्मी शिवकुमार काशी लगायतको सहभागिता थियो ।

लोकप्रिय

Related Articles