मनहरी–असोज २६ गते । मनहरी गाउँपालिका ७ स्थित मनकामना मन्दिर परिसरमा स्थापना भएको लोपोन्मुख काठको रोटेपिङमा दशैँको टिकाको दिन मात्रै २ हजार ५ सयभन्दा बढीले मज्जा लिएका छन् ।
पिङको व्यवस्थापन गरिरहेको मनकामना सनातन धर्म संरक्षण संस्थाका अध्यक्ष नारायण सुवेदीले टिका जमरा लगाएपछि एकपटक भुइँ छाड्नुपर्छ भन्ने नेपाली मौलिक मान्यता रहेकाले टिकाको दिन धेरैभन्दा धेरै मानिसहरु रोटेपिङ खेल्न आएका थिए ।
उहाँका अनुसार बिहानैदेखि रोटेपिङ र लिंगे पिङहरुमा निकै भिडभाड रहेकामा दशैँको साइतको टिका थापेर पिङ खेल्न आउनेहरुको भीड थामिनसक्नु थियो ।
रोटे पिङमा सम्भावित दुर्घटनाहरु नहोस् भन्नका लागि अनुभवी व्यक्तिहरुलाई स्वयम्सेवकको रुपमा काम गर्न संस्थाले आह्वान समेत गरेको थियो । ‘दिउँसोदेखि मनहरी गाउँपालिका ७ नं वडाध्यक्ष ठाकुरराम तितुङ र मसहित संस्थाका पदाधिकारीहरु नै रोटे पिङमा खटिएका थियौँ’, अध्यक्ष सुवेदीले भन्नुभयो ।
साना बालबालिकाहरुलाई रोटे पिङ खेल्न निषेध गरिएको र सम्भावित दुर्घटनाबाट स्वयम् जिम्मेवार भएर मात्रै पिङ चढ्न संस्थाले आह्वान गरेको छ । रोटे पिङलाई आगामी दिनमा सशुल्क बनाएर थप व्यवस्थित बनाउने समेत तयारी रहेको उहाँले बताउनुभयो ।
रोटे पिङमा महिला, बालबालिकाहरु बढी झुम्मिएका देखिन्थे । लोप हुँदै गएको रोटे पिङलाई संस्थाले यसबर्ष दशैँ तिहारलाई लक्षित गरी स्थापना गरेको हो ।
यसका अलावा लिङ्गे पिङ र बालबालिकाहरुलाई लक्षित अन्य साना २ वटा पिङ पनि रुखका हाँगाहरुमा हालिएका छन् ।
मनकामना मन्दिर परिसरलाई आकर्षक बनाउनका लागि सरसफाई र रंगीबिरंगी लाइटको व्यवस्था समेत गरिएको छ । त्यसो त जमरा घरमा राखिएको जमरा पनि टिका दिन बिहानै खपत भइसकेको संस्थाले जनाएको छ ।