Sunday, February 9, 2025

मनहरीको मनकामना मन्दिरमा चल्यो रोटेपिङ, पूर्वमन्त्रीदेखि गाउँपालिका अध्यक्षसम्मले चढे

ताजा / भरखरै प्राप्त

मनहरी–असोज २३ गते । हराउँदै गएको परम्परागत रोटेपिङको जगेर्ना मनहरी गाउँपालिका ७ स्थित मनकामना मन्दिर परिसरमा गरिएको छ ।

मनकामना सनातन धर्म संरक्षण संस्थाले बडादशैँलाई लक्षित गरी काठको रोटेपिङ तयार पारी सञ्चालन गरेको हो । संस्थाले १० दिनभन्दा बढी समय लगाएर बनाएको रोटे पिङको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले पुजापाठ तथा रिबन काटेर शुभारम्भ गर्नुभयो ।

उहाँले रोटे पिङको शुभारम्भ गर्दै समाज रुपान्तरणमा असल ब्यक्तिहरुले नेतृत्व गर्नुपर्ने बताउनुभयो । मनकामना सनातन धर्म संरक्षण संस्थाका यसअघिका कार्यसमितिले भन्दा अहिलेको समितिले निकै सक्रियता देखाएको भन्दै उहाँले यो जागरुकतालाई कायम राख्दै अघि बढ्न समितिलाई शुभकामना दिनुभयो ।

‘दिउँसोको संकेत बिहानीले गरेको छ’, अध्यक्ष कालाखेतीले भन्नुभयो–‘यो कामबाट हामी निकै प्रभावित भएका छौं र आगामी दिनहरुमा पनि स्थानीय सरकारले यस्ता कामहरुमा सहयोग गर्नेछ ।’

त्यसैगरी उपाध्यक्ष सीता पुलामी मगरले लोप हुँदै गएको रोटे पिङ स्थापना गरेर संस्थाले नयाँ पुस्तालाई त्यसबारे जानकारी गराएको उल्लेख गर्नुभयो । सभाध्यक्षको आसनबाट बोल्दै संस्थाका अध्यक्ष नारायण सुवेदीले संस्थालाई मजबुत बनाउने र आम जनमानसमा धार्मिकतासँगै पर्यटनको विकासको सम्भावनालाई उजागर गरी लैजाने संस्थाले नीति लिएको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास पूर्वराज्यमन्त्री सन्तबहादुर चेपाङ, निवर्तमान गाउँपालका अध्यक्ष एकराज उप्रेती, १ नं वडाध्यक्ष शिवप्रसाद खनाल, ४ नं वडाध्यक्ष प्रकाश थापा, ७ नं वडाध्यक्ष ठाकुरराम तितुङसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, राजनीतिक दलका पदाधिकारीहरु, संस्थाका आजीवन सदस्यहरु, पूर्व पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमपछि पूर्वराज्यमन्त्रीदेखि वडा सदस्य ज्यूहरुसम्मले रोटे पिङ चढेर मज्जा लिनु भएको थियो । पिङ दशैँ अबधिभरै खुल्ला रहने संस्थाले जनाएको छ ।

संस्थाले भोलि असोज २४ गते फूलपातीको दिन गाउँपालिका अध्यक्षको संरक्षकत्वमा फूलपाती भित्र्याउने तयारी पनि गरेको छ । संस्थाले मनकामना मन्दिर परिसरलाई सरसफाई, झिलीमिली बत्तीको व्यवस्थापन गरी रात्रीकालीन सुन्दरतालाई ध्यान दिएको छ ।

लोकप्रिय

Related Articles