मनहरी–असोज ११ गते । एसइइ २०८० को मौका (पूरक) परिक्षा दिएका पश्चिम मकवानपुरका १२ वटा विद्यालयका परिक्षार्थीहरुको नतिजा अस्वाभाविक भएको भन्दै सरोकारवालाले ध्यानाकर्षण गराएका छन् ।
मनहरी गाउँपालिका वडा नं ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालय परिक्षा केन्द्रबाट परिक्षा दिएका ४८० जना विद्यार्थीमध्ये ऐच्छिक प्रथम बिषयको परिक्षार्थी दिएका २ सय भन्दा बढी परिक्षार्थीको नतिजा शून्य भएपछि परिक्षाफलमाथि शंका बढेको हो ।
ऐच्छिक प्रथम अन्तर्गत ऐच्छिक गणित, वातावरण विज्ञान र अर्थशास्त्र बिषयको परिक्षा दिएका २ सयभन्दा बढी परिक्षार्थीमध्ये एकजना पनि सफल नभएपछि नतिजा निर्माणमा तलमाथि भएको आशंका गरिएको राष्ट्रिय रोटरी माविका सहायक प्रधानाध्यापक साधुराम रिजालले बताउनुभयो ।
उहाँले फेसबुक स्टाटस लेख्दै भन्नुभएको छ–’राष्ट्रिय रोटरी मावि मनहरी ७ मकवानपुरमा केन्द्र परी एसइइ ग्रेड बृद्धि परीक्षा २०८० मा सामेल भएका १२ वटा विद्यालयका कोही पनि विद्यार्थीहरु ओपिटी प्रथम विषयमा उत्तीर्ण नभएको देख्दा प्राविधिक रुपमा कुनै न कुनै त्रुटी भएको अनुमान गर्न सकिन्छ। यस विषयमा सम्बन्धित सरोकारवालाहरुको ध्यान जान आवश्यक छ।’
कुनै पनि विद्यालयका एकजना पनि विद्यार्थी ऐच्छिक प्रथमतर्फका बिषयहरुमा पास नभएपछि पुनर्याेगका लागि सहजीकरण गरिएको उहाँले बताउनुभयो ।
अहिले विद्यार्थीहरुले विद्यालयमा आएर वा आफैले पनि राष्ट्रिय परिक्षा बोर्डको वेबसाइटमार्फत पुनर्याेगका लागि अनलाइनबाट निवेदन दिइरहेको सहायक प्रधानाध्यापक रिजालले बताउनुभयो । ‘राष्ट्रिय परिक्षा बोर्डमा समेत यसबारे जानकारी गराउने प्रयत्न गरेका छौं’, उहाँले भन्नुभयो ।
यसैबीच विद्यार्थीहरुको आशंकायुक्त नतिजाका सम्बन्धमा राक्सिराङ गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले समेत चासो ब्यक्त गर्नु भएको छ ।
उहाँले मनहरीलाइभसँग भन्नुभयो–‘यो कुरा थाहा पाउने बित्तिकै मैले परिक्षा बोर्डका अधिकारीहरुसँग कुरा राखिसकेँ, पुनर्याेगका लागि सबै विद्यार्थीहरुलाई निवेदन दिन अनुरोध गर्दछु ।’
पुनर्याेगमा पनि चित्त नबुझे बोर्डमै गएर उत्तरपुस्तिका हेर्नेसम्मका कामहरु गर्नुपर्ने उहाँले बताउनुभयो ।
यसरी ऐच्छिक प्रथम विषयमा परिक्षामा सामेल भएका विद्यालयहरुमा मनहरी ७ को राष्ट्रिय रोटरी माध्यमिक विद्यालय, युनिभर्सल लर्निङ एकेडेमी र मेरीगोल्ड टाइनिटस इंग्लिस बोर्डिङ स्कूल, मनहरी ८ को महेन्द्रकिरण माध्यमिक विद्यालय र युनाइटेड इंग्लिस बोर्डिङ स्कूल, मनहरी ६ को राष्ट्रिय माध्यमिक विद्यालय, राकिसराङ ६ को राष्ट्रिय माध्यमिक विद्यालय सिलिंगे रहेका छन् ।
त्यसैगरी राक्सिराङ ९ को कालिका माध्यमिक विद्यालय, राक्सिराङ ८ को राष्ट्रिय माध्यमिक विद्यालय देविटार, राक्सिराङ ४ को कालिका माध्यमिक विद्यालय, कैलाश गाउँपालिका ३ को भवानी माध्यमिक विद्यालय र कैलाश गाउँपालिका ८ को धुवा माध्यमिक विद्यालय रहेका छन् ।