मनहरी–साउन १७ गते । मनहरी गाउँपालिका वडा नं ८ सिमपानीस्थित महेन्द्रकिरण माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चुन्नका लागि गोप्य निर्वाचन भएको छ ।
निर्वाचनमा वडाध्यक्ष समेत रहनु भएका नारायण उप्रेती निर्वाचित हुनु भएको छ । पदेन सदस्यको हैसियतले वडा समितिको तर्फबाट प्रतिनिधित्व गर्नेगरी समितिमा जानु भएका उप्रेतीलाई समितिको अध्यक्ष बनाउनका लागि ९ जनामध्ये ५ जनाले गोप्य मतदान गरेका हुन् ।
उहाँका प्रतिस्पर्धीकी रुपमा रहनु भएकी जानुकी लामाले ४ मत मात्रै प्राप्त गरेको बताइएको छ । मनहरी गाउँपालिका शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीकै उपस्थितिमा नेतृत्व चयन भएको बताइएको छ । यसअघि अभिभावक भेलाले बिधान बमोजि ४ जना अभिभावकलाई सदस्यमा चयन गरेको थियो ।
अभिभावकबाट चुनिएका ४ जना, वडाध्यक्ष १ जना, शिक्षक प्रतिनिधि एकजना प्रधानाध्यापक एकजना समितिमा रहने व्यवस्था छ । त्यसैगरी शिक्षा क्षेत्रमा योगदान गरेका व्यक्तिहरुका तर्फबाट अन्य दुई जना मनोनीत गरी समितिलाई ९ सदस्यीय बनाइने बैधानिक व्यवस्था छ ।
अध्यक्षमा निर्वाचित भएपछि उप्रेतीले विद्यालय सुधारका लागि आफूले स्थानीय सरकारको प्रतिनिधिको रुपमा भूमिका खेल्ने बताउनुभयो ।