मनहरी- साउन १७ गते । बागमती प्रदेशमा यही साउन २५ गतेबाट सप्ताहव्यापी खोप अभियान सञ्चालन हुने भएको छ ।
बागमती प्रदेशका नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठले आफ्नो पदबहालीको पहिलो निर्णयमा लम्पी स्किन डिजिज नियन्त्रणका लागि महत्वपूर्ण निर्णय गर्नुभएको हो ।
प्रदेश सरकारले “सप्ताहव्यापी खोप अभियान संचालन कार्ययोजना, २०८१” स्वीकृत गरेको छ । यस वर्ष करिब ६० हजार खोप लगाउने लक्ष्य रहेको छ ।
लम्पी स्किन डिजिज गाईभैंसीमा लाग्ने संक्रामक रोग हो, जुन २०७७ सालमा मोरङमा पहिलो पटक देखिएपछि अहिले नेपालभर फैलिएको छ ।
यस रोगले दुध उत्पादन घटाउने र पशु दुब्लाउने जस्ता नकारात्मक असरहरू गर्दछ। यस वर्षको अभियानले खोप मार्फत रोग नियन्त्रण र जनचेतना अभिवृद्धि गर्ने दुई प्रमुख उद्देश्य राखेको छ ।
प्रदेश सरकारले यो अभियानलाई सबै जिल्लाहरूमा एकैसाथ, व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गर्ने लक्ष्य राखेको छ । यसबाट पशुधनको संरक्षण र कृषकहरूको आर्थिक हित संरक्षण हुने अपेक्षा गरिएको छ ।
मन्त्री श्रेष्ठले यस निर्णयलाई प्रदेशभर पशु स्वास्थ्य संरक्षणका लागि महत्वपूर्ण कदमको रूपमा लिएका छन्