मनहरी- साउन ११ गते । हेटौडा औद्योगिक क्षेत्र अन्तर्गत उद्योग सञ्चालन गर्न सम्झौता गरी उद्योग सञ्चालनमा नल्याउने चार वटा उद्योगसँगको सम्झौता रद्द गरिएको छ ।
गत आव २०८०/८१ मा कार्यालयले उद्योग सञ्चालन गर्न सम्झौता गरेका ती उद्योगले आवश्यक संरचना निर्माणसँगै उद्योग सञ्चालनमा ल्याउन नसकेको भन्दै सम्झौता रद्द गरेको हो ।
हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका निमित्त क्षेत्र व्यवस्थापक सङ्गीता कुँवरका अनुसार लक्ष्मी पेन्ट्स उद्योग, नाथ फुड्स् इन्डस्ट्रिज प्रालि, बिवाइएस हेटौँडा प्रालि र सन्राइज कन्टेनर्स प्रालिसँग हेटौँडा औद्योगिक क्षेत्रभित्र उद्योग सञ्चालन गर्न गरिएको सम्झौता रद्द गरिएको जानकारी दिनुभयो ।
सन्राइज कन्टेनर्स प्रालिले प्लास्टिकका विविध वस्तु, नाथ फुड्स् इन्डस्ट्रिजले बिस्कुट तथा बेकरी, लक्ष्मी पेन्ट्सले वाल पुटिङ, रङरोगन र बिवाइएस हेटौँडा विभिन्न प्रकारका फ्ल्याट, एङ्गल फाइल, कम्बिनेसन प्लायरलगायतका औजार उत्पादन गर्ने गरी उद्योग सञ्चालनका लागि जग्गा भाडामा लिन सम्झौता गरेको थियो ।
उहाँले ती उद्योगले उद्योग सञ्चालन गर्न सम्झौता गरेर पूर्वाधार निर्माण गरी उद्योग सञ्चालन नगरेको र जग्गा मात्र ओगटेकाले सम्झौता रद्द गरिएको बताउनुभयो । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयसँग २०७२ र २०७३ मा सम्झौता गरेका चार उद्योगले ३० रोपनी जग्गा ओगटेका थिए ।
सम्झौता भएको छ महिनाभित्रमा आवश्यक संरचना निर्माण कार्य सुरु गरी दुई वर्षभित्रमा उद्योग सञ्चालनमा ल्याइसक्नुपर्ने र सञ्चालनमा ल्याउन नसकेमा दुई पक्षबिच भएको सम्झौता स्वतः रद्द हुने सम्झौतामा उल्लेख रहेको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारीले जानकारी दिनुभयो । गोर्खापत्रबाट